टीकापुर नगरपालिका– ७ र ८ मा चितुवाले त्रास फैलाएको छ । चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन् । केही दिनअघि वडा नम्बर ८ फाटाका २२ वर्षीय अरविन चौधरी भाग्यले बाँचे । उनको शरीरमा घाउ लागेको छ । यद्यपि, उनी खतरामुक्त छन् । उपचारपछि उनी तंग्रिएका छन् । चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बंगुर र कुकुर मारेको छ ।
चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन । ‘राति शौचालय जान निस्केको थिएँ, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिएँ,’ टीकापुर– ७ का शिवम चौधरीले भने, ‘त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ । खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ ।’
गाउँमा जंगली जनावरको जोखिम बढेपछि वन सबडिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जितराम चौधरी बताउँछन् । ‘अझै तीन किलोमिटर वन क्षेत्रमा तारजाली आवश्यक छ,’ उनी भन्छन्, ‘जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम रहन्छ ।’
यहाँ सत्ती कर्णाली र श्रीलंका सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जंगल भएकाले जंगली जनावरको आक्रमण बढिरहेको वडा नम्बर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । पारिबाट हात्ती, बाघ र चितुवा आउँछन्, टीकापुरका वडा नम्बर ७, ८, ५ र २ मा जंगल क्षेत्र जोडिएकाले यी वडामा जंगली जनावरको जोखिम छ । वडा नम्बर ८ मा चितुवा मात्र होइन, हात्तीले समेत त्यत्तिकै सताउने गरेका छन् । हात्ती नियन्त्रणका लागि तारजाली लगाउने, राति उज्यालो बनाउन बत्तीको व्यवस्था गरेको उनले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि जंगली जनावर आउने भएकाले बस्ती असुरक्षित भएको उनको कथन छ ।सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग कर्णाली करिडोर क्षेत्र जोडिएकाले जंगली जनावरको ओहोरदोहोर हुने जोखिम रहेको वन सबडिभिजन कार्यालयका अधिकृत मोहम्मद ताहा हुसेन निकरानीले बताए । ‘केही महिनादेखि जंगली जनावरको आक्रमण बढेको जानकारी आएको छ,’ उनले भने, ‘त्यहाँ बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दिया हुँदै जंगली जनावर कैलालीका सामुदायिक वन प्रवेश गर्ने गरेका छन्, यसले पनि जोखिम बढेको छ ।’ डिभिजन कार्यालयले सामुदायिक वनलाई तारजाली लगाउन सहयोग गरेको र त्यहाँका नागरिकलाई सुरक्षित रहन सचेत गराइएको उनले बताए ।