रुपन्देहीमा आर्थिक वर्ष ०८०/८१ मा चार सय दुईवटा उद्योग–व्यवसाय बन्द भएका छन् । आर्थिक मन्दीका कारण घरभाडा, कर्मचारीको तलब, बैंक किस्तालगायत खर्च भुक्तानी गर्न नसक्दा तीन सय ५४ उद्योग र ४७ व्यावसायिक फर्मले लगतकट्टा गरेको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अधिकृत नेत्रप्रसाद भुसालले जानकारी दिए ।
बन्द हुनेमा बढी घरपरिवारका सदस्य स्वरोजगार हुने किसिमबाट खोलिएका साना उद्योग बढी छन् । यस्ता उद्योग–व्यवसाय बन्द हुँदा करिब एक हजार पाँच सयजनाको रोजगारी खोसिएको उद्योग कार्यालयको अनुमान छ । ‘एउटा उद्योग व्यवसायमा कम्तीमा पाँचजनाले रोजगारी पाउने अवस्था रहन्छ,’ उनले भने, ‘तीन लाखदेखि एक करोड रुपैयाँ लागत भएका अधिकांश उद्योग–व्यवसाय बन्द भएका छन् ।’
अघिल्लो आर्थिक वर्ष ०७९/८० मा दुई सय ५२ उद्योग र १५ व्यवसाय गरी दुई सय ८५ वटा उद्योग–व्यवसाय बन्द भएका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष एक सय १७ वटा उद्योग बढी बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले जनाएको छ ।