मधेश प्रदेशमा रासायनिक मलको अभाव नहुने

बिहिबार, २८ असार, २०८१
डिजिटल संस्करण

मधेश प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ ।  रासायनिक मल वितरण गर्दै आएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसँग यथेष्ट मल मौज्दात रहेका जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन्  ।

रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत कम मूल्यमा किसानलाई उपलब्ध गराउँदै आइरहेका छन् । पछिल्लो समय कृषि सामग्री र साल्ट ट्रेडिङले रासायनिक मलखादलाई खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहअनुसारको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्दै आइरहेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय प्रमुख आमोज लामिछानेले विगतको  यस वर्ष रासायनिक मलको समस्या नहुने दाबी गरे । ‘गत आवमा भन्दा चालू आवमा आठ हजार आठ सय ४५.१५ मेट्रिक टन धेरै मल वितरण भइसकेको छ । त्यसैले पनि विगतको वर्षमा जस्तै यो वर्ष रासायनिक मलको समस्या नहुने अपेक्षा गरेका छौँ,’ उनले भने । 

कार्यालयले २०८१ असार २४ गतेसम्मको अवधिमा कार्यालयले मधेश प्रदेशमा युरिया, डिएपी र पोटास गरी कुल ५२ हजार ६ सय ५२.३५ मेट्रिक टन रासायनिक मल मधेश प्रदेशका आठ जिल्लामा वितरण गरिसकेको छ । यसमा युरिया मलको हिस्सा २७ हजार ६ सय १४.२५ मेट्रिक टन, डिएपी मलको हिस्सा २३ हजार ६ सय ८७.७० मेट्रिक टन र पोटास मलको हिस्सा भने १३ सय ६१.४० मेट्रिक टन रहेको छ ।

गत आवमा प्रादेशिक कार्यालयले तीनै थरीका मल ४३ हजार आठ सय ७.२० मेट्रिक टन वितरण गरेका थियो । यसमा युरिया मल ३१ हजार पाँच सय ८३.५५ मेट्रिक टन, डिएपी मल १२ हजार दुई सय १.३० मेट्रिक टन र पोटास मल २२.३५ मेट्रिक टन वितरण गरिएको थियो । 

सुझावित समाचार