सम्पदा क्षेत्रमा साइकल लेनको सम्भाव्यता अध्ययन सुरु

बुधबार, २० असार, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा डिजाइन भएको माइतीघर–बानेश्वर–कोटेश्वर साइकल लेन योजनालाई थाती राखेर महानगरले नयाँ योजनाको सम्भाव्यताबारे अध्ययन सुरु गरेको छ । महानगरले सम्पदा क्षेत्रमा साइकल लेन निर्माण गर्न सकिन्छ कि भनेर अध्ययन थालेको हो ।

महानगरअन्तर्गत सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले सम्पदा क्षेत्रलाई बाधा नपुर्याउने गरी साइकल लेन बनाउन सकिन्छ कि भनेर काम सुरु गर्न लागेको बताए । ‘साइकल लेन बनाउन महानगरभित्र ‘ट्राफिक स्टाटस स्टडी’ गर्न लागेका छौँ । सम्पदा क्षेत्रलाई बाधा नहुने गरी त्यहाँ साइकल गुडाउने अवस्था सिर्जना गर्न सक्छौँ कि भनेर पनि लागेका छौँ,’ राजभण्डारीले भने ।

उपत्यकाकै अर्को महानगर ललितपुरले साइकल लेन विस्तार गरेसँगै काठमाडौं महानगरपालिकामा पनि साइकल लेन निर्माणको चर्चा चुलिएको थियो । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर शाक्यले चुनावी घोषणापत्रमा साइकल लेन निर्माणलाई प्राथमिकता पनि दिएका थिए । महानगरले मंसिर ०७६ मै डिजाइन सार्वजनिक गरेको थियो । ३.५ किलोमिटर दूरीको लेन निर्माणका लागि महानगरले तीन करोड बजेट छुट्याएको थियो । सोहीअनुसार उनको कार्यकालमा चर्चा मात्रै पायो, पूर्ण रूपमा काम हुन सकेन । त्यसपछिका मेयर बालेन्द्र साह (बालेन) ले भने उनको योजनालाई बेवास्ता गर्दै आएका छन् । ललितपुरमा ३२ किलोमिटर साइकल लेन बनिसक्दा काठमाडौंमा भने कुनै निर्णय हुन सकेको छैन । 

साइकल लेनबारे छैन छलफल 
पाँच वर्षअघिदेखि नै सुरु भएको साइकल लेनको योजना कसरी अगाडि बढाउनेबारे छलफल हुन सकेको छैन भने तत्कालीन मेयर शाक्यको कार्यकालमा बनेको गुरुयोजनासमेत अलपत्र छ । ‘साइकल लेनबारे हामी सुरुवाती अवस्थामै छौँ । साइकल लेनबारे यसरी नै अगाडि बढ्ने भन्नेबारे निर्णय हुन सकेको छैन । हामी छलफलमै छौँ,’ राजभण्डारीले भने । उनको भनाइलाई आधार मान्ने हो भने महानगर साइकल लेन बनाउन इच्छुक देखिँदैन । 

आव ०७८/७९ मा पनि महानगरले सार्वजनिक निर्माणअन्तर्गत माइतीघरदेखि तीनकुने खण्डमा साइकल लेन निर्माणका लागि पाँच करोड विनियोजन गर्यो । साइकल लेन बनाउन नसकेको काठमाडौं महानगरले सोही आवमा ओभरहेड साइकल लेनका लागि बजेट विनियोजन गर्यो । 

सुझावित समाचार