जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ खेल्ने भएकी छिन् । ११ देखि २७ साउनसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनिताले वाइल्ड कार्ड प्राप्त गरेकी हुन् । नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले वाइल्ड कार्डमार्फत मनिता पेरिस ओलम्पिकमा छनोट भएको जानकारी दिए । मनिताले महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
पेरिस ओलम्पिकमा हालसम्म नेपालबाट सहभागी हुने खेलाडीको संख्या सात पुगेको छ । पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्सी दाहाल र सुटिङकी सुस्मिता नेपालले पेरिस यात्रा पक्का गरिसकेका छन् । टेबुलटेनिसका स्यान्टु श्रेष्ठ छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा छनोट भएका खेलाडी हुन् । यसबाहेक पारा ओलम्पिकमा पलेसा गोवद्र्धन पनि छनोट चरण पार गर्दै पारा ओलम्पिकमा स्थान बनाएका थिए । यसपटकको ओलम्पिकमा दुई खेलाडीले मात्र छनोट चरण पार गरे ।
अन्य सबै खेलाडीले वाइल्ड कार्डबाट स्थान पक्का गरेका हुन् । दक्षिण एसियाली खेलकुद (साग)को १२औँ र १३औँ संस्करणकी रजत विजेता २५ वर्षीया मनिताले नौ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी हुन् । उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग जुडो च्याम्पियनसिप थियो । त्यसमा मनिताले स्वर्ण जितेकी थिइन् । मनिता ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी हुन् । ओलम्पिकमा छनोट भएपछि मनिताले आश्चर्य लागेको प्रतिक्रिया दिएकी छिन् । ‘सुरुमा विश्वास नै लागेको थिएन, गुरुबाट फोन आएपछि थाहा भयो,’ उनले भनिन्, ‘अब पेरिस ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास हुनेछ ।’
ओलम्पिक खेल्ने छैटौँ जुडो खेलाडी
ओलम्पिकमा सहभागी हुने मनिता छैटौँ नेपाली जुडो खेलाडी हुन् । यसअघि १९८८ को सिओल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, २०१६ को रियो ओलम्पिकमा फुपुल्हामु खत्री, २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए । मनिताले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा कांस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायत अन्तर्राष्ट्रिय पदक जितेकी छिन् । उनीसँग एसियाली खेलकुदको १८औँ १९औँ संस्करण खेलेको अनुभव छ ।
पेरिस ओलम्पिककै लागि मनिताले जापान, चाइनिज ताइपेई, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन् । मनीता राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेकी छिन् । काठमाडौंको एकलटारस्थित रानीवनमा रहेको बन्दी सहायता नियोग (पाम)बाट जुडो खेल्न सुरु गरेकी उनी पाँच वर्षदेखि नेपाल प्रहरीमा आबद्ध छिन् । उनलाई टोकियो ओलम्पिक– २०२० मा प्रशिक्षकको भूमिका निर्वाह गरेका सूर्यनारायण श्रेष्ठले सुरुवाती दिनमा प्रशिक्षण दिएका थिए । पाममा हाल २८ जना आश्रित छन् र सबै जुडो खेल्छन् ।