चालू आर्थिक वर्षको ११ महिनामा बागमती प्रदेशले राजस्व संकलन लक्ष्यको जम्मा ७१.१६ प्रतिशत मात्रै गरेको छ भने बजेट खर्च ५१.५० प्रतिशत मात्रै भएको छ ।प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौँडाको तथ्यांकअनुसार यस अवधिमा प्रदेश सरकारले अनुमान गरेभन्दा २८.८४ प्रतिशत कम राजस्व संकलन गरेको हो । कार्यालय प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार आव ०८०/८१ ३० अर्ब ४४ करोड राजस्व संकलनको लक्ष्य राखेकोमा २१ अर्ब ६५ करोड संकलन भएको छ ।
यस अवधिमा प्रदेश सरकारले अनुमान गरेभन्दा आठ अर्ब ७८ करोड कम राजस्व संकलन भएको छ । संघीय र स्थानीय तहबाट बाँडफाँड हुने मूल्य अभिवृद्धि कर, आयकर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मनोरञ्जन कर, मालपोतलगायतका राजस्वमार्फत अनुमानको ६८.८२ प्रतिशत राजस्व संकलन भएको कार्यलय प्रमुख उपाध्यायले बताए । उक्त शीर्षकबाट २६ अर्ब ६८ करोड ६८ लाख संकलन गर्ने अनुमान गरिएकोमा जेठसम्म १८ अर्ब ३६ करोड ६४ लाख संकलन भएको छ ।
यस्तै, प्रदेश सरकारको आफ्नो स्रोतबाट संकलन हुने राजस्वमा भने केही उत्साहजनक देखिएको छ । कृषि, सरकारी सम्पत्तिको बहाल, पर्यटन शुल्क, यातायात, व्यवसाय रजिस्ट्रेसन, आमसञ्चार सञ्चालन तथा नवीकरणजस्ता क्षेत्रबाट उठ्ने राजस्व ८७.५० प्रतिशत संकलन भएको छ । प्रदेश सरकारले आफ्नो स्रोतबाट चालू आवमा तीन अर्ब ७५ करोड संकलनको लक्ष्य लिएकोमा तीन अर्ब २८ करोड प्राप्त गरेको छ । त्यस्तै, संघीय सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत १७ अर्ब ८१ करोड प्राप्त हुने अनुमान गरिएकोमा १० अर्ब ७७ करोड मात्रै संकलन भएको छ । प्रमुख उपाध्यायका अनुसार संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानको चालू र पुँजीगतर्फ गरी जम्मा ६०.४८ प्रतिशत प्राप्त भएको हो ।
बागमती प्रदेश सरकारले चालू आवको ११ महिनामा ५१.५० प्रतिशत मात्रै खर्च गरेको छ । चालू आवमा विनियोजित ६२ अर्ब ७० करोड ९० लाखको बजेटबाट जम्मा ३२ अर्ब २९ करोड ८१ मात्रै खर्च गरेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालूतर्फ २६ अर्ब ४० करोड २० लाख, पुँजीगततर्फ ३५ अर्ब ८० करोड ७० लाख र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ । जेठ मसान्तसम्म चालूतर्फ विनियोजित बजेटको ५४.११ प्रतिशत, पुँजीगततर्फ ५०.३१ प्रतिशत खर्च भएको छ । मन्त्रालयका उपसचिव लक्ष्मी कुमार रिमालका वित्तीय व्यवस्थापनका लागि ५० करोड विनियोजन गरिएकोमा अहिलेसम्म कुनै पनि रकम खर्च हुन सकेको छैन ।
भरतपुर महानगरपालिकाको बजेट पास
नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको १५औँ नगरसभा सम्पन्न भएको छ । असार १० गतेदेखि सुरु भएको नगरसभा बुधबार नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पास भएपछि सकिएको हो । महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय–व्ययसहितको ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पास गरेको छ । १५औँ नगरसभाले न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र संगठन तथा व्यवस्थापन सर्वेक्षण, राजस्व र व्ययको अनुमान (बजेट) आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ पारित गरेको छ ।