आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमाथि छलफल गर्न बिहीबारबाट सुरु भएको बागमती प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ।
प्रदेश सभामा प्रतिपक्षी दलहरू कांग्रेस, राप्रपा, मजदुर किसान पार्टीलगायतले सरकारले ल्याएको बजेट सन्तुलन नभएको भन्दै बजेट पुनः लेखन गर्नुपर्ने माग गर्दै अवरोध गरेका हुन् । प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेपछि सभामुख भुवनकुमार पाठकले प्रदेश सभा बैठक ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय–व्ययको विवरण नै नमिलेको भन्दै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बजेट पुनः लेखन नभए छलफल गर्नै नसकिने बताए । उनले सांसदहरूलाई उपलब्ध गराइएको र रातो किताब आएको बजेटमै भिन्नता भएको दाबी गरे ।
प्रतिपक्षी दलका सांसदहरूले रोस्टमअगाडि उभिएर नाराबाजीसमेत गरेका छन् । सांसदहरूले ‘बजेट पुनः लेखन गर, आर्थिक अराजकता गर्न पाइँदैन, बजेट सन्तुलित गरजस्ता नारा लगाएका थिए ।