कोलम्बिया ल रिभ्यु जर्नलको वेबसाइट सामान्यतया साजसज्जाभन्दा शोधपत्र, लेख रचनाजस्ता सामग्रीमा बढी केन्द्रित हुने गर्छ । गत साता ‘वेबसाइट मर्मतसम्भार भइरहेको छ’ भन्दै वेबसाइट डाउन थियो, जसले आगन्तुकलाई अचम्मित पारेको थियो । यद्यपि यो सत्य थिएन, वेबसाइट डाउन थिएन । प्यालेस्टिनी मानव अधिकार अधिवक्ता एवं प्राज्ञ राबे एगबरियाहको ‘टुवार्ड नकबा एज अ लिगल कन्सेप्ट’ नामक शोधपत्र प्रकाशित भएपछि यो साइटलाई नै कोलम्बिया ल रिभ्युको निर्देशक बोर्डले हटाएको थियो । गार्डियन, न्युयोर्क टाइम्सजस्ता सञ्चार माध्यमको ध्यानाकर्षण र कोलम्बिया विश्वविद्यालयका विद्यार्थी सम्पादकले काम ठप्प पार्ने भनेर विरोध गरेपछि बोर्डले वेबसाइट पुनस्र्थापना गर्यो ।
गत नोभेम्बरमा हार्वर्ड ल रिभ्यु जर्नलले एगबरियामाथि सेन्सर (रोक लगाउने) प्रयासले एक फरक नतिजा निम्त्यायो । त्यस अवस्थामा हार्वर्ड ल रिभ्युका अध्यक्षले एगबरियाको छोटो ब्लग निबन्ध ‘द अनगोइङ नकबा’को प्रकाशनमा रोक लगाए, जब कि जर्नलले यो लेख प्रकाशनका लागि सम्पादन गरिसकेको थियो । हार्वर्ड ल रिभ्यु जर्नलका सम्पादकको बहुमतले अध्यक्षको निर्णयलाई सदर गर्यो । २५ जना सम्पादकले सार्वजनिक रूपमा असहमति दर्ज गरे र दुईले राजीनामासमेत दिए ।
हामी दुई विद्यार्थी सम्पादकले हाम्रो जर्नलका सामान्य सूत्रमार्फत एगबरियाका यी लेख खोजेका थियौँ, अर्थात् कोलम्बिया ल रिभ्युबाट एरिका र हावर्ड ल रिभ्युबाट टेस्काको योगदान थियो । एगबरियाका लेखले अपर्थाइड (राज्य प्रायोजित विभेद अलगाव) र नरसंहारजस्ता अन्य गम्भीर मानव अधिकार उल्लंघनसँग तुलनात्मक रूपमा ‘नकबा’लाई स्वीकार गर्न पैरवी गरेको थियो । नकबाले सन् १९४८ मा व्यापक विस्थापन र अधिग्रहणको प्यालेस्टिनी त्रासदीलाई जनाउँछ, जसले अहिले जारी हिंसा र दमनलाई पनि समेट्छ ।
सेन्सरसिप नभएको भन्दै एगबरियाको लेखका विरोधीले प्रक्रियागत त्रुटिलाई उद्धृत गरेका थिए । अन्ततः कोलम्बिया ल रिभ्युको बोर्डले ‘प्रक्रियामा समस्या’ भन्दै वेबसाइट बन्द गर्यो र हावर्ड ल रिभ्युका सम्पादकले पनि नोभेम्बरमा यस्तै समस्याको दाबी गरेका थिए । प्रक्रियामा भएको समस्या निष्पक्ष देखिन सक्छ, अर्थात् यसअन्तर्गत अधिकारीलाई तटस्थ देखिने नियम लागू गर्दा वाक्–स्वतन्त्रताको पालना गरेको दाबी गर्न सक्षम बनाउँछ । यद्यपि विश्वविद्यालयले कहिलेकाहीँ यो प्रावधानलाई प्रयोग गरेर प्यालेस्टिनी समर्थकको भाष्यलाई दबाउन प्रयोग गरेका छन् ।
विश्वविद्यालयले प्रक्रियागत त्रुटिको प्रावधान प्यालेस्टिनी समर्थकको भाष्यलाई दबाउन प्रयोग गरेका छन्
प्रक्रिया निष्पक्ष लाग्न सक्छन्, तर कार्यान्वयन भने प्रायः निष्पक्ष हुँदैन । किनभने प्रक्रिया परम्पराबाट उत्पन्न हुन्छन्, अर्थात् स्वीकार्य अनुकूलन र निषेधित उल्लंघनबीचको भिन्नता अस्पष्ट हुन सक्छ । नियम स्पष्ट हुँदा पनि तिनलाई बिरलै पछ्याइन्छ । विवादास्पद अभिव्यक्तिका आलोचकले सामान्यतया सेन्सरसिपको औचित्य प्रमाणित गर्न प्रक्रियागत त्रुटि खोज्ने गर्छन् । कोलम्बियाले दुई प्यालेस्टिनी समर्थक विद्यार्थी समूहलाई प्रदर्शनबारे १० दिनको सूचना नदिएको भन्दै प्रतिबन्ध लगाएको छ । हार्वर्डले स्कुलको नीति उल्लंघन गर्दै आधिकारिक सह–प्रायोजकविना कार्यक्रम सञ्चालन गर्न खोजेको भन्दै विश्वविद्यालयको एक मात्र मान्यता प्राप्त प्यालेस्टिनी समर्थक विद्यार्थी संगठनलाई निलम्बन ग¥यो ।
कोलम्बिया ल रिभ्यु बोर्डले एगबरियाको लेख सामान्य समीक्षा प्रक्रियाबाट गुज्रिएको थिएन र धेरै विद्यार्थी सम्पादक यसबारे अनजान थिए भन्ने दाबी गरेको छ । यद्यपि ३० जना सम्पादकले एगबरियाको लेख सम्पादन गरेका थिए र सम्पादनले अन्य लेखसँग तादाम्य मिलाइएको थियो । केवल चार सम्पादकले अन्य सम्पादकको जानकारीविना दिवंगत प्राध्यापक केन्ट ग्रिनवाल्टको अबुच्युरी (मृत्युपछि लेखिने स्मृति लेख) सम्पादन गर्दा बोर्डले कुनै आपत्ति जनाएको थिएन । विद्यार्थी समूहलाई प्रतिबन्ध लगाउन वा विज्ञलाई मौन पार्नमा संलग्नले आफ्नो निर्णयमा बाह्य दबाब वा पूर्वाग्रहबाट प्रभावित भएको भनेर स्वीकार गर्ने सम्भावना देखिन्न ।
जायज चिन्तालाई सम्बोधन गर्नुको सट्टा आलोचकले जर्नलको ‘स्ल्याक सूत्र’मा पोस्टको अनुपस्थितिजस्ता सानातिना मुद्दामा ध्यान केन्द्रित गर्छन् । यद्यपि, प्राज्ञिक स्वतन्त्रता रक्षा गर्ने महत्वपूर्ण प्रक्रियागत नियम एगबरियालाई मौन बनाउन उल्लंघन गरियो । परम्परागत रूपमा हाम्रा जर्नल बोर्डले हाम्रा विद्यार्थी सञ्चालित संस्थालाई सल्लाहकार निकायका रूपमा हेर्थे, जसले सम्पादकलाई उपयुक्त देखिएअनुसार लेखको माग गर्ने र प्रकाशित गर्ने स्वतन्त्रता दिन्छ । कोलम्बिया ल रिभ्यु बोर्डको हालैका कदमले यो स्वतन्त्रतालाई खतरामा पार्छ ।
पेपरडाइन युनिभर्सिटी स्कुल अफ लका प्राध्यापक जेक चाल्र्सले विडम्बनालाई औँल्याए । बोर्डले प्रक्रियाको चिन्ताको आडमा असामान्य तरिकामा हस्तक्षेप गरेको उनी बताउँछन् । बोर्डबाट सम्पादकीय स्वतन्त्रता पुनः दाबी गर्ने लक्ष्यसाथ हाल कोलम्बिया ल रिभ्युका सम्पादक हडतालमा छन् र हडतालमा एगबरियाको लेखमा पक्षपाती अस्वीकरण हटाउनु पनि समावेश छ ।
हावर्ड ल रिभ्युले स्वीकार गरिएका लेखका लागि नियम बनाएको छ, जसले लेखकलाई तिनले छनोट गरेअनुसार तर्क गर्ने स्वतन्त्रता सुनिश्चित गर्छ । यद्यपि एगबरियाको लेखको खारेजीपछि हाम्रा सम्पर्कमा रहेका भावी लेखकले एगबरियाको नियति रोक्न सेल्फ–सेन्सरसिप (आत्म–नियमन) गर्न सक्छन् ।
विभिन्न र उत्कृष्ट शोधपत्र प्रकाशित गर्दा जर्नलले स्पष्ट प्रक्रिया पछ्याउनुपर्छ र हामी यसको सम्मान पनि गर्छौं । यद्यपि हाम्रा जर्नलमा प्यालेस्टिनी समर्थक अभिव्यक्तिलाई दबाउन देखिएका हालैका प्रयासले कसरी प्राज्ञिक स्वतन्त्रता र विवादयुक्त अभिव्यक्तिलाई सेन्सर गरी दुरुपयोग गर्न सकिन्छ भनेर देखाउँछन् । हामीले यी प्रयासको प्रतिरोध गर्नुपर्छ ।
(लेखकद्वय कोलम्बिया ल र हार्वर्ड ल रिभ्युका विद्यार्थी सम्पादक हुन्) द गार्डियनबाट