अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित, दाङमा कक्षाकोठामै बेहोस भए विद्यार्थी

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण
अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित, दाङमा कक्षाकोठामै बेहोस भए विद्यार्थी

गर्मीका कारण बुधबार कक्षाकोठामै बेहोस भएका तुलसीपुर– ११ उरहरीस्थित अमर माविका विद्यार्थी।

अत्यधिक गर्मीले तराईको जनजीवन अस्तव्यस्त बनेको छ । अधिकांश जिल्लामा विद्यालय बिदा दिइएको छ । पढाइ जारी रहेको दाङ तुलसीपुर उपहानगरपालिका– ११ उरहरीस्थित अमर माविका विद्यार्थी गर्मीका कारण कक्षाकोठामै बेहोस भएका छन् । कक्षा ८ का पाँचजना र कक्षा ९ का एकजना विद्यार्थी बुधबार दिउँसो साढे १ बजेतिर बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाइएको थियो ।

उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीका अनुसार विद्यार्थीमा गर्मीका कारण समस्या देखिएको हो । विद्यार्थीमा बान्ता आउने, पिसाब पोल्ने, टाउको दुख्ने समस्या देखिएको छ । गर्मीको समयमा पानी धेरै खानुपर्ने, घाममा धेरै खेल्न नहुने वलीले बताए । 

गर्मीका कारण विद्यार्थी कक्षाकोठामै बेहोस हुन थालेपछि दाङका विद्यालय बन्द गरिएको छ । घोराही  र तुलसीपुर उपमहानगरपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार विद्यार्थीमा स्वास्थ्य समस्या आएको गुनासो आएपछि विद्यालय बन्द गरिएको हो । त्यस्तै, बबई गाउँपालिका, शान्तिनगर, गढवा गाउँपालिकाले पनि गर्मी बिदा दिएका छन् ।

दाङमा बुधबार अधिकतम तापक्रम ३९.८ डिसे मापन भएको छ, मंगलबार ४०.२ डिसे थियो । १७ जेठमा पनि ४०.२ डिसे पुगेको थियो ।  

गर्मीका कारण तराईमा विद्यालय बन्द
गर्मीका कारण तराईका कयौँ जिल्लामा विद्यालय बन्द गरिएको छ । कतिपय क्षेत्रमा बिहानी कक्षा चलाइएको छ । 

पर्साको वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थामा फेरि तीन दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेकाले २ असारसम्म सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले बताए । यसअघि वीरगन्जमा १६, १७ र १८ जेठमा  विद्यालयमा गर्मी बिदा दिएको थियो ।

महोत्तरीका अधिकांश स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । यद्यपि, सामुदायिक विद्यालय बन्द रहे पनि निजी विद्यालयले समय छोट्याएर बिहानी कक्षा चलाइरहेका छन् । 

चितवनको भरतपुर महानगरपालिका तथा कालिका, रत्ननगर र खैरेनी नगरपालिकाले पनि विद्यालयमा गर्मी बिदा दिइसकेका छन् । भरतपुरले विद्यालयमा मंगलबारबाट शुक्रबारसम्म बिदा दिइसकेको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार बिदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी, पोखरीमा पौडी खेल्ने माछा मार्नेजस्ता कार्यमा संलग्न हुन अभिभावकलाई आग्रह गरिएको छ । माडी नगरपालिकाले बिहानी कक्षा चलाइरहेको छ ।  

कञ्चनपुरको बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिकाले पनि गर्मी बिदा दिएका छन् । त्यहाँका अन्य पालिकामा बिहान १० बजेसम्म विद्यालय सञ्चालन भइरहेका छन् । बर्दियामा विद्यालय बन्द छैनन् । तर, गुलरिया र ठाकुरबाबा नगरपालिकाका विद्यालयले बिहानी कक्षा चलाएका छन् । 

सुझावित समाचार