तीन महिनाभित्र फाप्ला मैदानको डिपिआर तयार हुने

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिमको फाप्ला क्रिकेट मैदानको डिपिआर तीन महिना भित्र तयार हुने भएको छ । फाप्ला विकास समितीका अध्यक्ष सुवाश शाहीले डिपिआर र इआइएका प्रक्रिया निकै अगाडि बढेको र तीन महिना भित्र पूरा हुने बताएका छन् । डिपिआर तयार भएपछि फाप्ला विकास समितिले परराष्ट्र मन्त्रालयमार्फत डिपिआरलगायतका विवरण भारत पठाउने तयारी भएको उनले जनाए । समिति युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको छ ।

‘अहिले हामीहरूको पहिलो लक्ष्य नै मैदानको डिपिआर काम चाँडै सकाउने हो,’ शाहीले भने, ‘त्यसपछि परराष्ट्रको मातहतमा हामी सवै डकुमेन्ट भारतमा पठाउँछौँ ।’ युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गर्ने क्रममा शाहीले मैदानको भौतिक अवस्था बारे जानकारी दिए । 

दुई वर्षअघि ४१ बिगा जग्गा फाप्ला विकास समितिको मातहतमा आएको थियो । त्यसपछि यहाँ अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने प्रक्रिया सुरु भएको थियो । प्रधानमन्त्रीको पछिल्लो भारत भ्रमणमा फाप्ला क्रिकेट रंगशाला निर्माणमा भारत सरकारले सहयोग गर्ने सहमति भएको थियो । 

मन्त्री श्रेष्ठको निरीक्षणलगत्तै समितिको बोर्ड बैठक डाँकेका थिए । वैठकमा अहिलेसम्मको प्रगति विवरण प्रस्तुत मन्त्री श्रेष्ठ समक्ष गरियो । मन्त्री श्रेष्ठले डिपिआर र इआइएको छिटो सकाउन गर्न निर्देशन दिए । ‘तपाईहरूले डिपिआरलगायत अन्य काम सक्दो छिटो सकाउनुस्, मन्त्रालयबाट सबै किसिमको सहयोग हुनेछ,’ उनले भने । 

सुझावित समाचार