मोदी स्वतन्त्र भारतका २०औँ प्रधानमन्त्री

७२ सदस्यीय मन्त्रिपरिषद्को गठन, भाजपाका अधिकांश मन्त्री पुरानै

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण
मोदी स्वतन्त्र भारतका २०औँ प्रधानमन्त्री

शपथग्रहण कार्यक्रममा निम्त्याइएका विभिन्न देशका नेताहरूसँग प्रधानमन्त्री मोदी ।

जनता पार्टीका नेता नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । उनी स्वतन्त्र भारतका २०औँ प्रधानमन्त्री भएका छन् । जवाहरलाल नेहरूपछि लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने मोदी दोस्रो नेता हुन् । 
हालैको लोकसभा निर्वाचनमा एकल बहुमत नपाएपछि मोदीलाई एनडिए गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने अवसर मिलेको हो । मोदीसँग गठबन्धन सरकार चलाएको अनुभव छैन । आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीसहित उनको मन्त्रिपरिषद्का ७२ सदस्यले शपथ लिएका छन् । पाँच सय ४३ सदस्यीय लोकसभामा एनडिएलाई दुई सय ९२ सिट हासिल भएको छ । 

तोकिएको समयअनुसार साँझ सवा ७ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई सुरुमा शपथ गराएकी थिइन् । मोदीले ईश्वरको नाममा शपथ लिएका थिए । मोदीको शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकाका कार्यकारी प्रमुख एवं मोरिससका प्रधानमन्त्री र सेसेल्सका उपराष्ट्रपति सहभागी भएका छन् ।

राष्ट्रपति भवनमा आयोजित समारोहमा शपथग्रहण सुरु हुनुअघि भारतीय सेनाले विगुल बजाएको थियो । मोदीले शपथग्रहण गरेपछि क्रमशः वरीयताका आधारमा मन्त्री र राज्यमन्त्रीहरूको शपथ भएको थियो । मोदीसँगै भारतीय जनता पार्टीका अध्यक्ष जयप्रकाश नड्डा तथा शीर्ष नेताहरू राजनाथ सिंह, अमित साह, नितिन गडकरी, शिवराजसिंह चौहानले मन्त्रीको शपथ लिएका छन् । राज्यसभा सांसद र यसअघि विदेशमन्त्री भइसकेका डा. एस जयशंकरले पनि मन्त्री पदको शपथ लिएका छन् । 

एनडिए गठबन्धनबाट ७२ जना मन्त्रिपरिषद्मा सहभागी भएका छन् । शपथ लिएकाहरूमा ३० जना क्याबिनेट मन्त्री, पाँचजना स्वतन्त्र प्रभार मन्त्री र ३६ जना राज्यमन्त्री छन् । प्रधानमन्त्री मोदीबाहेक २४ राज्यका ७१ जना मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन् । तीनपटक र त्यसभन्दा बढी सांसद रहेका ४३ जना मन्त्री भएका छन् । विगतमा मन्त्री भइसकेका ३९ जना छन् ।

नीतीस कुमार नेतृत्वको जनता दल युनाइटेड, चन्द्रबाबु नायडु नेतृत्वको तेलुलु देशम पार्टीसहित अन्य गठबन्धनमा सामेल क्षेत्रीय पार्टीका नेताहरू मन्त्रिपरिषद्मा सहभागी भएका छन् । 

मुख्यमन्त्री भएयता मोदीको सातौँ शपथ
सन् २००१ देखि चारपटक गुजरातको मुख्यमन्त्री भएका मोदीले तीनपटक प्रधानमन्त्री हुँदा २४ वर्षमा सातौँ शपथ लिएका छन् । सन् २००१ अक्टोबर ७, २००२ डिसेम्बर २२, २००७ डिसेम्बर २५, २०१२ डिसेम्बर २६ मा उनले गुजरातको मुख्यमन्त्रीको शपथ लिएका थिए । २०१४ मे २६ मा उनले पहिलोपटक प्रधानमन्त्रीको शपथ लिएका थिए भने दोस्रोपक २०१९ मे ३० मा शपथ लिएका थिए । ७४ वर्षीय मोदीको जीवनको यो मुख्यमन्त्री र प्रधानमन्त्रीमा सातौँ शपथ हो । 

प्रधानमन्त्रीको पहिलो शपथग्रहणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य मुलुक तथा मोरिससका शीर्ष नेतालाई निम्ता गरिएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला शपथग्रहणमा सहभागी भए । दोस्रोपटक प्रधानमन्त्रीका रूपमा मोदीले शपथ लिँदा बिमस्टेक सदस्य मुलुक तथा मोरिससका शीर्ष नेतालाई बोलाइएको थियो । त्यसवेला प्रधानमन्त्री केपी ओली सहभागी भए । 

प्रचण्ड–मोदी भेटवार्ता  द्विपक्षीय हितका विषयमा छलफल 
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच शपथग्रहणपछि संक्षिप्त भेटवार्ता भएको छ । राष्ट्रपति भवनमा भएको साइडलाइन भेटमा प्रधानमन्त्री प्रचण्डले मोदीलाई तेस्रो कार्यकालका लागि बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले शपथग्रहण समारोहमा सहभागी भएकोमा समकक्षी प्रचण्डलाई धन्यवाद दिएका छन् ।

नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापाले दुई देशबीचको बहुआयामिक सम्बन्ध थप विस्तार तथा सुदृढ बनाउनुपर्नेमा दुवै प्रधानमन्त्रीले जोड दिएका छन् । ‘भेटमा द्विपक्षीय हितका विषयमा छलफल भयो,’ उपनियोग प्रमुख थापाले नयाँ पत्रिकासँग भने । प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ समारोहमा सहभागी हुन दिल्ली आएका हुन् । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच बुधबार टेलिफोन वार्ता भएको थियो ।

राष्ट्रपति भवनको सुरक्षामा गोर्खा सैनिक
भारतीय राष्ट्रपति भवनको सुरक्षामा भारतीय सेनाको गोर्खा राइफल्स खटिएको छ । आइतबार शपथग्रहण समारोहमा गोर्खा सैनिकका जवानले भित्री सुरक्षाको बन्दोबस्ती मिलाएका थिए । भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले पाँचौँ गोर्खा राइफल्सको पहिलो बटालियन राष्ट्रपति भवनमा खटिएको जानकारी दिए । पाँचौँ गोर्खा राइफल्स सन् १८५८ मा ब्रिटिसले स्थापना गरेका थिए ।

भारत स्वतन्त्र भएपछि गोर्खा सैनिकको विभाजनका क्रममा उनीहरू भारतीय फौजअन्तर्गत गाभिएका थिए । ‘हामी करिब ६ महिनादेखि राष्ट्रपति भवनको सुरक्षामा छौँ । अबको चार वर्ष यहीँ खटिन्छौँ,’ एक गोर्खा सैनिकले भने । त्यहाँ खटिएकामध्ये अधिकांश नेपाली नागरिक छन् ।

सुझावित समाचार