अन्ततः लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । दुवै पक्षले जितको उत्सव मनाउन सक्ने आकर्षक चुनावी मत परिणाम आएको छ । भारतीय जनता पार्टी (भाजपा) आफ्नै बलमा बहुमत (एकल बहुमत) बनाउनबाट चुकेको छ । तर, ‘फेरि मोदी सरकार’ नाराका साथ अगाडि बढेको निर्वाचनअघिको भाजपा नेतृत्वको एनडिए गठबन्धनले २७२ को सामान्य बहुमतको अंक भने सहज रूपमा पार गरेको छ ।
विगत एक दशकदेखि गम्भीर रूपमा खुम्चिएको विपक्षी तंग्रिने स्थितिमा छ । अमेठी र रायबरेलीमा गान्धी परिवारका लागि ठूलो व्यक्तिगत जित हो । कंग्रेस भाजपाभन्दा करिब १४० सिट पछाडि छ । तर, निर्वाचन नतिजाले राहुल गान्धीलाई भाजपाले यसअघि घोषणा गरेजस्तो सहजै कमजोर निसाना बनाउन सकेको देखिएन । भाजपाले आफ्ू विजयी भएको घोषणा गरिसकेको छ र नतिजाबाट पार्टी सत्ता बनाउन विचलित भएको छैन । पार्टीभित्र शक्तिशाली मोदीको पकड यद्यपि उस्तै छ । पार्टीभित्र झड्का महसुस गरिएको छ, तथापि बाहिर भने ऊ मोदीको ह्याट्रिकको खुसी मनाइरहेको छ ।
भाजपाभित्र नरमपन्थी नेताको खोजी
सरकार गठन गरेपछि आगामी दिनमा भाजपामाथि स्पष्ट रूपमा गठबन्धन दल हाबी हुनेछ । विश्लेषकले नरेन्द्र मोदीको गठबन्धन चलाउने क्षमताको वास्तविक परीक्षण हुने बताइरहेका छन् । विशेषगरी, आगामी सरकार गठबन्धनमा दिग्गज नेताहरू नितिश कुमार र एन. चन्द्रबाबु नायडूको (जो दुवै सहजै गुट फेर्न माहिर नेता मानिन्छन्) चाहनाविपरीत चल्न कठिन हुनेछ । इन्डिया गठबन्धका केही साझेधारहरूले आफूहरूले सरकार गठन गर्न सक्ने आशामा बिहारका मुख्यमन्त्री नितिश कुमार र आन्द्र प्रदेशका आगामी मुख्यमन्त्री एन चन्द्रबाबु नायडूलाई भेट्न जोड दिइरहेका छन् । तथापि अहिलेका लागि यो प्रयास गाह्रो देखिएको छ ।
गठबन्धनको राजनीति एउटा पेचिलो र विश्वासघाती बाटो हो । भाजपाले आगामी सरकारमार्फत पहिलेजस्तै कानुन निर्माणमा आत्मविश्वास देखाउन गाह्रो पर्नेछ । बाजपेयी युगको गठबन्धनको शैलीमा पुनर्विचार गर्नुपर्नेछ । संख्या मात्र चिन्ता होइन ।
भाजपाले विगत १० वर्षमा क्षेत्रीय शक्तिहरूलाई ध्वस्त पार्ने तरिका र असहमतिलाई रोक्न एजेन्सी र संस्था प्रयोग गरेको आरोपले आफ्ना सहयोगीलाई समेत (गठबन्धनका साझेदारलाई) सतर्क बनाएको छ । विगत एक दशकमा भाजपाभित्रका कट्टरपन्थी नेताहरूको नयाँ ब्रान्डले विपक्षीसँग दूरी बढायो । अब पार्टीमा नरम नेतालाई अगाडि बढाउनुपर्छ । अरुण जेटली, प्रमोद महाजन वा सुष्मा स्वराजजस्ता बाजपेयी युगका समस्या निवारक नेताहरू अब जीवित छैनन् । भाजपाले सहकार्यात्मक संघीयताको भावनालाई अंगाल्नु आवश्यक छ र क्षेत्रीय शासकहरूको विरोध गर्नु नयाँ व्यवस्थाका लागि हानिकारक हुनेछ भन्ने कुरा बुझ्नुपर्छ ।
वर्तमान सन्दर्भमा निर्वाचन परिणामले हिन्दुत्वको विचारमा पुनर्विचार गर्ने थप अनुकूल राजनीतिक एजेन्डाको आवश्यकतालाई पनि जोड दिन्छ । उत्तर प्रदेशमा भाजपाको खराब प्रदर्शनले कट्टरपन्थी एजेन्डाको अपिल यस क्षणका लागि घटेको संकेत हुन सक्छ । अयोध्या र राम मन्दिरको केन्द्र फैजाबादको हार ठूलो सन्देश हो । भाजपाले अब सरकारमा रहेर कृषि क्षेत्रका असन्तुष्टिलाई सम्बोधन गर्ने, बेरोजगारी समस्या समाधान गर्ने र आर्थिक विकासका अन्य प्रमुख सूचकमा केन्द्रित हुनुपर्छ ।
विपक्षसँगको सुमधुर सम्बन्ध निर्माणले भाजपालाई सत्तामा सहज पाँच वर्ष व्यतित गर्न सहज बनाउनेछ । प्रमुख विपक्षी गठबन्धन इन्डियाको प्राथमिक चुनौती आफूहरूबीचको एकतालाई कायम राख्नु र आफूलाई एक ठोस प्रतिपक्षको रूपमा विकसित गर्नु हो । त्यहाँ पनि जसरी पनि सत्ताको स्वाद चाख्न चाहने दलको कमी छैन । यदि हामी संख्याका लागि दौडको युगमा फर्कियौँ भने यो दुवैका लागि एक दुस्साहस हुन सक्छ । भावी गठबन्धन भाजपाभित्रका नरमपन्थीले पाउने भूमिकाले निर्धारण गर्छ ।
– एनडिटिभीबाट