मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालीन खर्च संरचनासमेत पारित गरेको हो।

बजेटसँगै संसदमा टेबुल हुने भएकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यमकालीन खर्च संरचना बनाएर राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गर्ने गरेको छ। 

आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्ण रूपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमताअनुसार नै बजेट विनियोजन गर्ने गरी सुनिश्चित गरिएको छ। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्यता नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने बताए। कसरी हुन्छ नीति तथा कार्यक्रममा मिल्ने गरी जनमुखी बजेट निर्माणका लागि आफूले भनेको र सोही स्प्रिटमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्री दाहालले बताए। 
 
बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव वैकुण्ठ अर्याल तथा आयोगका सदस्य र सदस्यसचिवलगायतको उपस्थिति रहेको थियो।

सुझावित समाचार