१७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफ खेल्ने चार टोलीको टुंगो लागेको छ । शीर्ष स्थानमा कोलकाता नाइट राइडर्स रहेको छ । सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले दोस्रो र तेस्रो स्थान पक्का गरे । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार राति साबिक विजेता चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंग्लोरले चौथो स्थानमा रही प्लेअफ पक्का गरेको हो ।
चेन्नईसँगै दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स, गुजरात टाइटन्स, पन्जाब किंग्स र मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाउन सकेनन् । आइपिएलको कोलकाता र राजस्थानबीचको अन्तिम खेल वर्षका कारण रद्द भयो । अब, फाइनल प्रवेशका लागि पहिलो प्लेअफमा कोलकाताले हैदराबादसँग पहिलो क्वालिफायर खेल्नेछ ।
बेंग्लोरले राजस्थानको सामना गर्नेछ । यस सिजनमा मुम्बईले ठूलो जोखिम उठाउँदै नियमित कप्तान रोहित शर्मालाई हटाएर अलराउन्डर हार्दिक पाण्ड्यालाई कप्तानीको जिम्मेवारी दिएको थियो । तर, हार्दिकको कप्तानीमा मुम्बईले राम्रो प्रदर्शन गर्न सकेन । पाँचपटकको विजेता मुम्बई तालिकाको पुछारमा रहँदा टोलीका मालिक तथा कप्तानमाथि समर्थकले आलोचना गरेका छन् । गुजरात र पन्जाबले पनि आशा गरेजस्तो प्रदर्शन गर्न सकेनन् ।
कोलकाता
श्रेयस ऐयरको कप्तानीमा रहेको कोलकाता यसपटक सबैभन्दा बलियो टोलीका रूपमा रह्यो । सन् २०१२ र २०१४ को च्याम्पियन कोलकाताले सर्वाधिक २० अंक जोड्यो । शीर्ष स्थानमा रहन कोलकाताका वेस्ट इन्डिज, इंग्ल्यान्ड र भारतीय खेलाडीले एकनासको प्रदर्शन गरेका थिए । यसपटक कोलकाताले तीन खेल गुमाउँदा नौ खेलमा जित निकाल्यो । वेस्ट इन्डिजका सुनील नारिन, आन्द्रे रसेल, अस्ट्रेलियाका मिचेल स्टार्क र इंग्ल्यान्डका फिल साल्टले उत्कृष्ट प्रदर्शन गरे । कोलकाताका भारतीय ३२ वर्षीय खेलाडी वरुण चक्रवर्तीले १८ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा छन् । ब्याटिङतर्फ सुनीलले १२ इनिङ्समा एक शतकसहित चार सय ६१ रन बनाए ।
हैदराबाद
सुरु र अन्तिमतिर उत्कृष्ट प्रदर्शन गरेको हैदराबादले मध्यतिर राम्रो गर्न सकेन । चालू सिजनमा हैदराबादले आइपिएल इतिहासमै सर्वाधिक योगफल रेकर्ड राख्ने तोड्ने प्रदर्शन गरेको थियो । सिजनमा हैदराबादको ब्याटिङ लाइनअप सर्वाधिक बलियो देखियो । अस्ट्रेलियाका ओपनर ट्रेभिस हेडले ओपनिङमा उत्कृष्ट ब्याटिङ गरेपछि हैदराबादले विपक्षीमाथि दबाब राख्यो । सिजनकै सर्वाधिक रन बनाउने तेस्रा खेलाडी बनेका हेडले ११ इनिङ्स खेल्दा एक शतक र चार अर्धशतक बनाए ।
यसक्रममा उनले पाँच सय ३३ रन जोडे । उनलाई ओपनर अभिषेक शर्माले गतिलो साथ दिए । अभिषेकले १३ इनिङ्समा चार सय एक रन जोडे । ब्याटिङका साथै हैदराबादको बलिङ पक्षसमेत बलियो रह्यो । थंगारासु नटराजले ११ खेलमा १७ विकेट लिए । उनी सर्वाधिक विकेट लिने सूचीको पाँचौँ स्थानमा छन् । हैदराबादको उत्कृष्ट प्रदर्शनमा नीतीश कुमार रेडी, हेन्रिक क्लासेन, प्याट कमिन्स र भुवनेश्वर कुमारको प्रदर्शन पनि उच्च रह्यो । हैदराबादले प्रतियोगितामा १४ खेल खेल्दा आठमा जित र पाँचमा हार बेहोरेको छ । एक खेल अनिर्णीत बन्यो ।
राजस्थान
रोयल स्पोर्टस् ग्रुपको स्वामित्वमा रहेको राजस्थानको सुरुवाती चरणको प्रदर्शन प्रभावशाली र सानदार रह्यो । राजस्थानले सुरुका नौमध्ये एक खेल मात्रै हारेको थियो । लगातार चार खेलमा जित निकालेको थियो । तर, पछिल्लो चार खेलमा भने टोलीले बिर्सनलायक प्रदर्शन गरेको छ । हैदराबाद, दिल्ली, चेन्नई र पन्जाबसँग पराजित हुँदा शीर्ष स्थानमा रहन असफल भयो । २९ वर्षीय कप्तान सञ्जु सामसनलाई यशस्वी जैसवाल, टम काममोर, रियान पराग, रविचन्द्रन आश्विन, रोभमन पावेल, ट्रेन्ट बोल्ट र आभेस खानाले साथ दिएका छन् । पराग १३ इनिङ्समा पाँच सय ३१ रन बनाएर उच्च रन बनाउने खेलाडीको सूचीमा शीर्ष चारमा छन् । राजस्थानका ३३ वर्षीय युजभेन्द्र चहल १७ विकेटसहित उच्च विकेटकर्ताको आठौँ स्थानमा छन् ।
बेंग्लोर
चालू सिजनमा बेंग्लोरको सुरुवात खासै राम्रो भएन । राम्रो ब्याटिङ लाइनअप र विश्वस्तरीय खेलाडीको साथ रहेको बेंग्लोरले सुरुका आठमध्ये सात खेलमा हारको सामना गरेको थियो । यस नतिजापछि बेंग्लोर लगभग प्लेअफबाट बाहिरिएको आकलन गरिएको थियो । त्यसपछि बेंग्लोरको उत्कृष्ट पुनरागमन भयो । सुरुको आठ खेलसम्म कमजोर देखिएको बेंग्लोरले त्यसपछिका ६ खेलमा अपराजित यात्रा कायम राख्यो । शनिबार निर्णायक खेलमा चेन्नईलाई पछि पार्दै प्लेअफमा स्थान बनाएको हो । बेंग्लोरले १४ खेलमा समान सात हार र पराजय सामना गरेको छ ।
राम्रो रनरेटमा बेंग्लोरले अन्तिम चारमा स्थान पक्का पारेको हो । बेंग्लोरसँगै समान १४ अंक जोडेका चेन्नई, दिल्ली र लखनउ रनरेटमा पछि परे । चेन्नई थोरै रनरेटमा बेंग्लोरसँग पछाडि रह्यो । बेंग्लोर प्लेअफमा पुग्दा पूर्वकप्तान विराट कोहलीको प्रदर्शन सानदार रह्यो । उत्कृष्ट फर्ममा रहेका उनले १४ खेलमा एक शतक र पाँच अर्धशतक बनाए । यसक्रममा उनले सात सय आठ रन जोडे । सर्वाधिक रन बनाउने सूचीमा उनी शीर्ष स्थानमा छन् ।
बेंग्लोरका कप्तान फाप डु प्लेसिसले चार अर्धशतकसहित चार सय २१ रन बनाएका छन् । बलियो ब्याटिङ भएको बेंग्लोरको बलिङ पक्ष कमजोर छ । दायल १३ खेलमा १५ विकेटसहित उच्च विकेटकर्ताको १५औँ स्थानमा रहेका छन् ।
