मोदीको भारतमा सामान्यीकृत भएको घृणा

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री मोदीको सबैभन्दा पछिल्लो मुसलमानविरोधी भाषणले अशुभ संकेत गर्छ । धेरैले यसले हिंसा निम्त्याउने चिन्ता व्यक्त गरिरहेका छन् र यी चिन्ता जायज पनि छन् । मोदी र उनका पार्टीका नेताले जसरी सहज ढंगले मुसलमानविरोधी भाष्य फैलाउँछन्, त्यो निकै चिन्ताजनक छ । सानादेखि ठूला समस्यामा मुसलमानलाई दोषी देखाउने प्रवृत्ति आमजीवनमा प्रवेश गरिरहेको छ । भारतका कैयौँ हिस्सामा राजनीतिक वा सामाजिक सन्दर्भमा ‘मुसलमान’ शब्दको प्रयोगले हलचल ल्याउने गर्छ । म हुर्केको सहर अहमदाबादमा सन् १९७० को दशकदेखि नै मुसलमानविरुद्ध सुषुप्त ‘अपर्थाइड’ र गम्भीर पूर्वाग्रह मौजुद छ, तर भारतका अन्य सहरमा पाँच वर्ष अगाडिसम्म मुसलमानविरुद्ध द्वेष देखिन्थेन ।    

सन् २००६ मा तेहेल्कामा दिएको एक अन्तर्वार्तामा गणेश देवीले गुजरातका विभिन्न सहरमा हुने मुसलमानद्वेष ‘न विवेकले निःसृत हो, न सिकिएको हो, यो त सामान्य दैनन्दिनको विषय हो’ भनेका थिए । सन् २००२ गुजरातमा भएको भयानक हिंसा र तत्पश्चात मोदीको उदयको कारण गुजराती समाजमा विद्यमान सामान्यीकृत घृणा थियो । द्वेषी राजनीतिक भाषणले पहिल्यैदेखिका पूर्वाग्रहीलाई हौसला दिन्छ, विशेषतः जब यी द्वेषलाई लिएर नेता र बुद्धिजीवीले आँखा चिम्लिन्छन् । 

घृणाको ‘सामान्यीकरण’ :  मैले हालै ओस्कार विजेता चलचित्र ‘द जोन अफ इन्ट्रेस्ट’ हेरेकी थिएँ । विनाशको भावना हिंसाको दृश्यबाट उत्पन्न नभई हत्याप्रतिको सामान्य मनोवृत्ति वा उदासीनताको चित्रणबाट हुन्छ । धेरै ‘आमजर्मन’का लागि यहुदीलाई ग्यास च्याम्बरमा हाल्नु र गोली हान्नु एक नियमित काम थियो । चलचित्र हेर्दै गर्दा मलाई सन् २००२ को हिंसाका वेला लेखिएको सौम्या जोशीको उत्कृष्ट गुजराती नाटक ‘दोस्त, चोक्कस अहिन्या एक नगर वास्तु हातुन’ (मित्र, म निश्चित छु कि सहर कुनैवेला यहाँ उभिएको थियो) को याद आयो । पुरातात्विक उत्खननकर्ताले अहमदाबादको बिर्सिएको सहर पत्ता लगाउँछ र सो सहर त्यहाँका जनताको उदासीनताका कारण हराएको थियो । एक स्मरणीय दृश्यले सहरको एक भाग निरन्तर हत्याबाट पीडित देखाउँछ भने अर्को भागलाई उदासीन देखाउँछ, जहाँ मानिस सडकमा पकवानको आनन्द लिइरहेका हुन्छन् । 

मोदी पुनः निर्वाचित भए वा नभए पनि उनको शासनबाट सामान्यीकृत भएको घृणा कायम रहिरहने सम्भावना छ
 

हलोकस्ट (यहुदी आमनरसंहार) र अन्य विश्वव्यापी नरसंहारलाई भारतको अल्पसंख्यकविरोधी हिंसासँग तुलना गर्नु अनुचित त्यतिखेर हुन्छ, जब हामी हत्याको संख्या गन्छौँ । यदि हिंसालाई सजिलो र सामान्य बनाउने अवस्था पनि महत्वपूर्ण हुन्छ भने यहाँनेर हलोकस्ट र भारतका अल्पसंख्यकविरोधी हिंसाको तुलना गर्न सकिन्छ ।

दार्शनिक हाना अरेन्तले भयानक यहुदी नरसंहारको नेतृत्व गर्ने नाजी अधिकारी एडोल्फ आइचम्यानलाई वर्णन गर्न ‘दुष्टताको सामान्यता’ भन्ने शब्दावली प्रयोग गरेकी थिइन् । यहुदीप्रतिको घृणा यति सामान्य थियो कि यहुदीलाई अनावश्यक मानिसका रूपमा हेरिन्थ्यो । उनका अनुसार मानव हुनुको एक आन्तरिक मूल्य हुन्छ भन्ने इम्यानुअल कान्टको सिद्धान्तले तब अर्थ गुमाउँछ, जब मानिसलाई मानिसका रूपमा हेरिँदैन ।

त्यसो भए हिंसा कसरी सामान्यीकृत हुन्छ ? वा के कारणले मानिसलाई अनावश्यक बनाइयो ? अरेन्तले बन्दी शिविर (कन्सन्ट्रेसन क्याम्प) हत्या शिविर (एक्स्टरमिनेसन क्याम्प) भन्दा खराब थियो भन्ने तर्क गरेकी थिइन् । हत्या शिविरमा मानिसको हत्या मात्रै गरिएको थियो । तर, बन्दी शिविरले मानिसको व्यक्तित्व र मानवीय नैतिकता हरण गरेको थियो । अरेन्तले यदि पीडित मानव नै होइन वा आधुनिक राष्ट्र–राज्यमा पीडितको नागरिक हैसियत संदिग्ध छ भने हिंसा सजिलो छ भनेकी थिइन् । उनले ‘अधिकार पाउने अधिकार’का लागि व्यक्ति राजनीतिक समुदायको हुनुपर्छ, अन्यथा मानवअधिकार मात्रै अपर्याप्त छ भनेकी थिइन् ।

१८ वर्षसम्म राज्यविहीन भएकी र सन् १९३० को दशकमा यहुदीद्वेष छल्न खोज्दा कतै शरण नपाएकी अरेन्तले भारतको नागरिकता संशोधन ऐनको पक्कै पनि आलोचना गर्दी हुन् । उनले ‘विश्वले केवल मानिस मात्रै रहेको मानिसमा कुनै पवित्रता (महत्व) फेला पारेन’ भन्दै आफू र आफूजस्तै राज्यविहीन मानिसप्रतिको मौजुदा उपेक्षामाथि जोड दिएकी थिइन् । भारतमा घृणाको सामान्यीकरणले व्यावहारिक एवं संस्थागत रूपमा जरा गाडेको छ । उसो त अरेन्तले इचम्यानलाई विचारधाराबाट अलग गरेको भए पनि मानवशास्त्रीले विचारधारा र मानिसबीच नजिकको सम्बन्ध पाउँछन् । मानवतालाई पुनः परिभाषित गर्ने विचारधाराले लघुमानव वा गैरमानव निर्माण गर्छ । यसरी बनेको अमानवीकृत छविले नाजी विचारधारामा महत्वपूर्ण भूमिका खेल्यो र हलोकस्टलाई सामान्य बनायो ।

एक समूहलाई अमानवीय बनाउनेमा प्रायः ‘नैतिक रूपमा सही’ युद्ध र नरसंहार अग्रपंक्तिमा हुन्छ । थर्ड रिचले यहुदीलाई ‘विश्वव्यापी परजीवी’को संज्ञा दिएका थिए, रुवान्डामा तुत्सीलाई ‘साङ्लो’ भनिएको थियो र हिन्दू राष्ट्रवादीले मुसलमानलाई ‘धमिरा वा घुसपैठिया’ भन्छन्, जहाँ प्रत्येकलाई बहिष्कार वा उन्मूलन गर्नुपर्ने जैविक खतराका रूपमा हेरियो÷हेरिन्छ । मानवशास्त्री वीणा दासका अनुसार सन् १९८४ को सिखविरोधी हिंसाको समयमा सम्पूर्ण सिख समुदायलाई गद्दार, आक्रामक र सम्भावित हिंस्रकका रूपमा चित्रण गरिएको थियो । यसले कसरी लक्षित समूहको ‘चरित्र’ आक्रमणकारीको भाष्यअनुसार निर्माण हुन्छ भन्ने देखाउँछ ।

घृणा कानुन बनेपछि यसले वैधता प्राप्त गर्छ र दमन पवित्र बन्छ । संरचनागत पूर्वाग्रह न्यायपालिका, मिडिया, शिक्षा, आवास, रोजगारी र आपराधिक न्याय प्रणालीमा सूक्ष्म रूपमा प्रवेश गरिरहेको छ । पुनर्लिखित इतिहासका पाठ्यपुस्तक र पुनः परिभाषित नागरिकताका सिद्धान्त समयक्रममा आन्तरिकीकरण हुन्छ । भारतमा नागरिकता संशोधन ऐन लागू होस् वा नहोस् मुसलमानलाई उत्पीडक बाहिरियाकै रूपमा हेरिन्छ । मोदी पुनः निर्वाचित भए वा नभए पनि उनको शासनबाट सामान्यीकृत भएको घृणा कायम रहिरहने सम्भावना छ ।
(धत्तिवाला एक स्वतन्त्र समाजशास्त्री हुन्) द वायरबाट

सुझावित समाचार