वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ७ प्रतिशत कायम भएको छ । निक्षेप बढ्दै गएपछि बैंकहरूले ब्याजदर घटाउँदै गइरहेका छन् । वैशाखमा औसत ब्याजदर ७.५ प्रतिशत रहेकोमा चैतमा घटेर ७ प्रतिशत कायम भएको हो । सोमबार वाणिज्य बैंकहरूले जेठका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार कुल २० वाणिज्यमध्ये नौ बैंकहरूले घटाएका छन् ।
नबिल बैंक, एभरेष्ट र सिटिजन्स इन्टरनेसनल बैंकले ब्याजददर ०.५ प्रतिशत विन्दुका दरले घटाएका छन् । एनएमबि बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् भने एनआइसी एसिया बैंक र ग्लोबल आइएमई बैंकले बढाएका छन् ।
जेठ महिनामा आठ बैंकहरूले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर स्थिर राख्नेमा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक छन् । त्यस्तै, लक्ष्मी सन्राइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि अघिल्लो महिनाको ब्याजदरलाई निरन्तरता दिने भएका छन् । त्यस्तै, कृषि विकास बैंकको ब्याजदर पनि स्थिर नै देखिन्छ ।
जेठ महिनामा एनएमबि बैंक र एनआइसी एसिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । यी दुवै बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ७.८ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ६.८ प्रतिशतका दरले ब्याज दिने भएका छन् । सबैभन्दा कम ब्याजदर भने नेपाल एसबिआई बैंकको रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.३९ प्रतिशतका दरले ब्याज दिने भएको छ ।
नबिलले पनि ब्याजदर घटाएर ७.८ प्रतिशत पुर्याएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ६.५ प्रतिशत पुर्याएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, लक्ष्मी सन्राइज बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकले ब्याजदर ७ प्रतिशत कायम राखेका छन् । माछापुच्छ्रे बैंकको ब्याजदर ७.२५ प्रतिशत पुगेको छ भने कुमारी बैंकको ७.२६ प्रतिशत कायम छ । कृषि विकास बैंकको ब्याजदर ५.६६ प्रतिशत छ । सानिमा बैंकले ब्याजदर घटाएर ६.९ प्रतिशत कायम राखेको छ ।
बुधबार राष्ट्र बैंकको सञ्चालक समितिको बैठक
नेपाल राष्ट्र बैंकले सञ्चालक समितिको बैठक डाकेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारी गरिरहेका वेलामा समितिको बैठक बोलाएको एक सञ्चालकले जानकारी दिए । यद्यपि, बैठकको एजेन्डामा मौद्रिक नीतिको समीक्षाबारे एजेन्डा भने उल्लेख छैन ।