झापाको बिर्तामोड नगरपालिकाले सुकुमवासीको घर भत्काएर मलामी घर र दाहसंस्कारस्थल बनाउने तयारी गरेपछि विवाद निम्तिएको छ।
बिर्तामोड– ७ गोल्धापस्थित देउनिया खोलाको बगरमा मलामी घर बनाउन डोजर चलाएपछि विवाद निम्तिएको हो। गत शुक्रबार बिर्तामोड नगरपालिकाले डोजर लगाएर एकजना सुकुमवासीको घरसमेत भत्काएको थियो। त्यसपछि केही स्थानीयले अवरोध गर्न खोज्दा हात हालाहालको अवस्थासमेत आएको थियो।
सुन्दर–निचाझोडा सामुदायिक वन क्षेत्रमा बसेका ६ घर सुकुमवासीमध्ये सीता आचार्य खरेलकाे घर नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौला र वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरप्रहरी र बाक्लो संख्यामा अन्य व्यक्ति लगेर उक्त घर भत्काउँदै मलामी घरका लागि वन क्षेत्र सम्याएका हुन्।
यसअघि त्यहाँका ६ घरमध्ये तीन घर सुकुमवासीका लागि नगरपालिकाले सहारा नेपाल सहकारीको सहयोगमा पाँच वर्षअघि नै बनाइदिएको थियो। तर, सुकुमवासी खरेलको भने कच्ची घर थियो। ‘घर चलाउन नै मुस्किल भएपछि छोरी विदेश गएकी छ। यहाँ सरकारले नै छोरीको घर भत्काइदियो,’ उनका बुबा मोहनलाल आचार्यले भने, ‘नभत्काइदिन आग्रह गर्दा पनि डोजर लगाएर भत्काइछाडे। अन्त कहीँ केही छैन। अब विदेशबाट आएर कहाँ बस्ने ?’
त्यहाँका ६ घर सुकुमवासी र केही स्थानीय त्यहाँ दाहसंस्कार स्थल र मलामी घर बनाउन नदिने पक्षमा छन्। गत शुक्रबार जनप्रतिनिधि र प्रहरीसहित करिब दुई सयजना पुगेपछि उनीहरू आक्रोशित भएका थिए। त्यसक्रममा हात हालाहालको अवस्था आएको थियो।

एक वर्षअघि अहिले बनाउन लागिएकोभन्दा दुई किलोमिटर दक्षिणमा बनेको मलामी घर।
नगर उपप्रमुख संग्रौला र वडाध्यक्ष खरेलले करिब दुई सय एमाले कार्यकर्ता ल्याएर बलजफ्ती गरेको स्थानीय देवीमाया अधिकारीको आरोप छ। घर नभत्काउन र यहाँ मलामी घर नबनाउन आग्रह गर्दा स्थानीयमाथि हातपात गरेको उनको आरोप छ। ‘मेरो पनि खुट्टामा चोट लागेको छ। गुण्डाजस्ता मान्छे आएर बलजफ्ती गरे,’ उनले भनिन्।
त्यही स्थानमा पुरानो एउटा मलामी घर पनि छ। तर, नगरपालिकाले उक्त मलामी घर संरक्षण गर्न नसक्दा जीर्ण र कामै नलाग्ने भएको छ। नगरपालिकाले वडाको पाँच लाख बजेटमा त्यहाँ नयाँ मलामी घर बनाउन बजेट छुट्याएको छ। यद्यपि, गत वर्ष मात्र त्यहाँभन्दा करिब दुई किलोमिटर दक्षिण देउनिया खोलामा नै नगरपालिकाले मलामी घर निर्माण गरेको छ । ‘नगरपालिकालाई मलामी घर बनाउने मोह किन ? एक वर्षअघि मात्र दुई किलोमिटर दक्षिणमा बनाएको । त्यही प्रयोग गर्दा पनि त हुन्छ,’ स्थानीय दाताराम अधिकारीले भने।
अहिले मलामी घर बनाउने भनेको स्थान सुन्दर–निचाझोडा सामुदायिक वन क्षेत्रमा पर्छ। वन क्षेत्रमा संरचना बनाउँदा भोगाधिकार अनिवार्य लिनुपर्ने डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए। उनले त्यहाँ संरचना बनाउन रोक लगाइएको बताए। ‘त्यहाँ संरचना बनाउने तयारी गरिएको रहेछ । हामीले रोकिसकेका छौँ,’ उनले भने, ‘वन क्षेत्रमा जथाभावी संरचना बनाउन पाइँदैन। बनाउने नै भए सरकारबाट भोगाधिकार लिनुपर्छ।’
डिभिजन वनले त्यहाँ संरचना बनाउन नदिन सुन्दर–निचाझोडा सामुदायिक वनलाई पनि पत्र लेखेको थियो। तर, उक्त पत्रको अवज्ञा गर्दै गत शुक्रबार नगरपालिकामा डोजर लिएर नगरप्रमुख र वडाध्यक्ष दलबलका साथ त्यहाँ पुगेका थिए। स्थानीयले अवरोध गरेपछि केही छिन तनाव सिर्जना भएको थियो। त्यही विषयलाई लिएर वडाध्यक्ष कृष्णप्रसाद खरेलले इलाका प्रहरी कार्यालय अनारमनीमा दाताराम आचार्य, नन्दु उप्रेती र गणेश कालिकोटेमाथि दुर्व्यवहार गरेको भन्दै जाहेरीसमेत दिएका छन्। यद्यपि, स्थानीयले आफूहरूले कुटाइ खाएको बताइरहेका छन्।
सोही ठाउँकी सुकुमवासी डिप्रेसनकी बिरामी महिला चन्द्र दर्जीले उपप्रमुखले आफूलाई घोक्य्राएकाे आरोप लगाइन् । ‘घर नभत्काइदिन भन्दै म गएँ । उपमेयरले तँ अरूले उचालेको भरमा नआइज भन्दै घचेडे। त्यसपछि म लडेँ,’ उनले भनिन्।
यद्यपि, नगर उपप्रमुख संग्रौलाले भने आफूले कसैमाथि हातपात नगरेको दाबी गरेका छन्। उनले वडाध्यक्षले समस्या परेर बोलाएपछि समन्वय गर्न पुगेको बताए। उनले बरु केही स्थानीयले आफूहरूमाथि तथानाम गाली गरेको आरोप लगाए। उनले नन्दु उप्रेती नाम गरेका व्यक्तिले वडाध्यक्ष खरेलमाथि हातपात गरेको दाबी गरे।
त्यहाँ दाहसंस्कार स्थल निर्माणका लागि माओवादी कार्यकर्ताले अवरोध गरेको उनको आरोप छ । उनले त्यहाँ दाहसंस्कारस्थल निर्माणका लागि माओवादीबाहेक अन्य दलका स्थानीय नेताहरू दाहसंस्कार बनाउने पक्षमा साथ दिएको र डोजर चलाएका दिन पनि अन्य दलका स्थानीय पुगेको उनले बताए । उनले डिभिजन वन कार्यालयले झापालाई प्रधानमन्त्री पुष्पकमल दाहालको शक्ति दुरुपयोग गरेर पत्र लेख्न लगाएको दाबी गरे।
‘त्यहाँ ठूलो सात तारे होटेल नै बनाउनेजस्तो गरेर वनले पनि चिट्ठी लेखिहाल्नुपर्ने ? प्रधानमन्त्रीको पावर दुरुपयोग गरेर वनले पनि चिट्ठी लेखिहाल्नुपर्ने ! बुझ्दैनौँ हामी यति कुरा ?’ उनले भने, ‘पार्टी सरकारमा हुने अनि यहाँ जे–जे मन लाग्यो त्यो गर्दै हिँड्न मिल्छ ? स्थानीय सरकारसँग समन्वय गर्नुपर्दैन ? वडाध्यक्षले छलफलमा बोलाउँदा आउनुपर्दैन ? एमालेले त आफ्नो नाम कमाउन गरेछ होला, राप्रपा र कांग्रेसले किन साथ दिए होला ? त्यो सर्वसम्मत निर्णय हो।’
वडाध्यक्ष कृष्णप्रसाद खरेलले त्यो स्थानमा विगत लामो समयदेखि राजवंशी समुदायले दाहसंस्कार गर्दै आएको बताए । त्यहाँ अव्यवस्थित रहेको र त्यसलाई व्यवस्थित गर्न वडाले बजेट छुट्याएको बताए । त्यस क्रममा कार्यपालिका लक्षिमा खतिवडा र आफूमाथि आक्रमण गरेको बताए । त्यसकारण इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएको बताए।