७३ जिल्ला पुग्यो पाठ्यपुस्तक, चैतभित्रै देशभर पुग्ने

सोमबार, २६ चैत, २०८०
डिजिटल संस्करण
७३ जिल्ला पुग्यो पाठ्यपुस्तक, चैतभित्रै देशभर पुग्ने

हुम्लामा पाठ्यपुस्तक पुगेपछि पुस्तक पसलबाट सदरमुकाम सिमकोटका विद्यार्थी पुस्तक बोकेर विद्यालयतर्फ जाँदै । तस्बिर : दाने बोहरा/रासस

विगतमा शैक्षिक सत्र सुरु भएको महिनौँसम्म पनि विद्यार्थीले पुस्तक नपाउने समस्या गत वर्षदेखि सुधार भएकोमा यसपालि समयमै छपाइ र ढुवानीले अझ छिटो भएको छ

समयमा विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या अघिल्लो वर्षदेखि सुधार भएकोमा यसपालि अझै छरितो भएको छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार आइतबारसम्म ७३ जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी चारमध्ये सोलुखुम्बु र बर्दियामा सोमबार र मंगलबारसम्म तथा बाँके र कैलालीमा २८ र २९ चैतमा ढुवानी हुने केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले बताए । 

‘यो वर्ष विद्यालयले नयाँ शैक्षिक सत्र सुरु नगर्दै अधिकांशमा पाठ्यपुस्तक पुगिसकेको छ, बाँकी रहेका जिल्लामा पनि चार दिनभित्र पुगिसक्छ,’ उनले भने, ‘समयमै पाठ्यपुस्तक छपाइ र ढुवानी हुँदा वेलैमा पाठ्यपुस्तक पुर्याउन सम्भव भएको हो ।’ 

विगतका वर्षहरूमा शैक्षिक सत्र सुरु भएको महिनौँसम्म पनि कैयौँ जिल्लामा पाठ्यपुस्तक पुग्दैनथ्यो । गत वर्षदेखि यो समस्यामा सुधार भएको थियो । अघिल्लो वर्ष १५ चैतदेखि ढुवानी थालिएकोमा यसपालि अझै छिटो ७ चैतदेखि नै ढुवानी थाल्दा समयमै पाठ्यपुस्तक पुगेको केन्द्रको दाबी छ । 

पाठ्यक्रम विकास केन्द्रको तथ्यांकअनुसार हाल सरकारी विद्यालयको बालविकास तहदेखि कक्षा १२ सम्म ५६ लाखभन्दा बढी विद्यार्थी छन् । केन्द्रले सोही परिमाणमा पाठ्यपुस्तक छापेर ढुवानी भइरहेको हो । यसपटक एकदेखि चार कक्षासम्मको पाठ्यपुस्तक निजी छापाखाना र त्यसभन्दा माथिल्लो तहको पाठयपुस्तक जनक शिक्षालाई छाप्न दिइएको थियो । पाठ्यक्रम विकास केन्द्रसँगको समन्वयमा जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक ढुवानी तथा छपाइ सुरु गरेको थियो । केन्द्रले ढुवानी थालेको १५ दिनमा देशका अधिकांश जिल्लामा पाठ्यपुस्तक पुर्याइसकेको छ ।

यस वर्ष एकदेखि १० कक्षासम्मको पुस्तक छपाइमा झन्डै दुई अर्ब रुपैयाँ खर्च हुने अनुमान छ भने सो तहमा दुई करोड ६० थान किताब प्रकाशन गरिएको छ । तर, आर्थिक खर्चको यथेष्ट विवरण भने आउन बाँकी रहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । 

स्कुल–स्कुलमा पुग्यो पाठ्यपुस्तक
केन्द्रबाट समयमै ढुवानी भएपछि जिल्लामा पुगेको पाठ्यपुस्तक स्कुलहरूमा पनि पुग्न थालेको छ । हाल पाठ्यपुस्तक पुगेको जिल्लाका अधिकांश विद्यालयले लगिसकेका छन् । 

जनक शिक्षा सामग्री केन्द्रले आफ्नो प्रादेशिक डिपोहरूमार्फत विक्रेतालाई पुस्तक दिने गरेको छ भने विद्यालयको मागअनुसार विक्रेताले विद्यालयमा पुस्तक पुर्याउने गरेका छन् । पाठ्यक्रम विकास केन्द्रले सबै जिल्लामा पाठ्यपुस्तक पुगेकाले डिपो तथा विक्रेताहरूसँग सम्पर्क गरेर पाठ्यपुस्तक लैजान देशभरका विद्यालयलाई निर्देशन दिएको छ । त्यस्तै, समयमै पाठ्यपुस्तक विवतरण गर्न पनि भनेको छ । 

पुस्तक ढुवानी र छपाइको खर्च सरकारकै 
पुस्तक विद्यालयसम्म पुर्याएको सबैखाले खर्च र ढुवानी सरकारकै हो । विद्यालय तहसम्मको शिक्षा प्रणाली स्थानीय तहको जिम्मेवारीमै रहने भएकाले आ–आफ्नो स्थानीय तहमा आएको पाठ्यपुस्तकको शुल्क सम्बन्धित स्थानीय तहले पाठ्यक्रम विकास केन्द्रलाई पठाउनुपर्छ । केन्द्रले जनक शिक्षा सामग्री केन्द्रको खातामा सो रकम पठाउँछ । सामुदायिक विद्यालयले विद्यार्थीबाट पाठ्यपुस्तकको शुल्क लिन पाउँदैनन् । 
 

सुझावित समाचार