कोभिड महामारीमा स्वास्थ्य सामग्री किन्दा तीन करोड भ्रष्टाचार

मेडिकल व्यवसायी विशाल पण्डित र चार सरकारी कर्मचारीसहित सातविरुद्ध मुद्दा

सोमबार, १९ चैत, २०८०
डिजिटल संस्करण

कोभिड महामारीका वेला स्वास्थ्य सामग्री खरिद गर्दा करिब तीन करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डित, उनको कम्पनी र चार सरकारी कर्मचारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । 

विशेष अदालतमा आइतबार दायर मुद्दामा महामारीको विशेष परिस्थिति देखाई गैरकानुनी लाभ लिने बदनियतसहित अधिकतम कबोल गर्ने बोलपत्रदातालाई छनोट गरेर दुई करोड ८९ लाख ६६ हजारबराबर राज्यलाई हानि पु¥याएको दाबी गरिएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाले कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्र विराटनगरका लागि ‘हाई डिपेन्डेन्सी युनिट’ (एचडियू)को उपकरण खरिद गर्दा यस्तो अनियमितता गरिएको थियो । 

अख्तियारले एचडियू उपकरण खरिद मूल्यांकन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, मूल्यांकन समितिका सदस्यहरू निर्देशनालयकै लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाललाई प्रतिवादी कायम गरेको छ । त्यस्तै, हस्पिटेक इन्टरप्राइजेज प्रालि, त्यसका सञ्चालक पण्डित र कम्पनीकै बजार व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध मतियारको भूमिका निर्वाह गरी भ्रष्टाचार गरेको अभियोग छ । 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा ४ (ख) बमोजिम पेस भएका कुनै पनि बोलपत्रहरू प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थाल्नुपर्नेमा कानुनविपरीत ठेक्का लगाएर उपकरण खरिद गरिएको अख्तियारको दाबी छ । प्राविधिक दृष्टिकोणबाट खरिदको प्रक्रिया पूरा नभएको बोलपत्रलाई प्रक्रिया पूरा भएको भनी मूल्यांकन समितिबाट गलत लिखत तयार गरेको अनुसन्धानबाट खुलेको थियो ।  मूल्यांकन समितिले सबैभन्दा बढी रकम कबोल गर्ने हस्पिटेक इन्टरप्राइजेज प्रालि तिनकुनेद्वारा पेस भएको बोलपत्र स्वीकृत गर्ने निर्णय गरी एचडियू उपकरण खरिद गरेको थियो । खरिद प्रक्रियामा तीन कम्पनीले बोलपत्र पेस गरेका थिए । तर, अनिवार्य रूपमा पेस गर्नुपर्ने कागजात तीनवटै बोलपत्रदाताले पेस गरेका थिएनन् । त्यस्तो अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, त्यसो गरिएन । 

कोभिड महामारीको विशेष परिस्थिति देखाई अत्यावश्यक स्वास्थ्य पूर्वाधारका लागि उपकरण खरिद गर्नैपर्ने बाध्यता रहेको अवस्था मान्दासमेत सबैभन्दा कम रकम कबोल गर्ने बोलपत्रदातालाई छनोट गर्नुपर्ने हुन्थ्यो । तर, सबैभन्दा धेरै कबोल गरेको पण्डित सञ्चालक रहेको हस्पिटेक इन्टरप्राइजेज प्रालिलाई कानुनविपरीत ठेक्का दिइएको थियो । 

सबैभन्दा कम रकम कबोल गर्ने कम्पनी र बढी कबोल गरेर पनि छनोट भएको हस्पिटेकको मूल्य अन्तरलाई बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो । ‘गैरकानुनी लाभ लिने बदनियतले सबैभन्दा बढी कबोल गर्ने बोलपत्रदातालाई छनोट गरेकाले यसरी तेस्रो हुने र पहिलो हुने फर्महरूद्वारा कबोल गरिएको रकमको अन्तर दुई करोड ८९ लाख ६६ हजारबराबर अस्वाभाविक रूपमा बढी मूल्य तिरी खरिद गर्ने कार्य गराएको पुष्टि भयो,’ अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचारजन्य कसुरमा अख्तियारले संलग्न कर्मचारी, आपूर्तिकर्ता कम्पनी, कम्पनी सञ्चालक र कम्पनीका बजार व्यवस्थापकविरुद्ध जनही दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको छ । कर्मचारीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ञ) बमोजिमको कसुरमा सोही दफाको उपदफा १ बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुलउपर गर्न अख्तियारले भनेको छ । 

मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वाभाविक रूपमा बढी मूल्य तिरी खरिद गर्ने, गराउने कसुरमा अख्तियारले मुद्दा दायर गरेको हो । उक्त कसुरमा कसुरको मात्राअनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर गर्ने व्यवस्था छ । त्यस्तै, मूल्यांकन समितिबाट गलत लिखत तयार गरी प्रतिवेदन दिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा अतिरिक्त सजायको मागदाबी अख्तियारले गरेको छ । यस्तो कसुरको मात्राअनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । 

त्यस्तै, हस्पिटेक इन्टरप्राइजेज प्रालि र त्यसका सञ्चालक पण्डितविरुद्ध मतियारको भूमिका निर्वाह गरी भ्रष्टाचार गरेको अभियोग छ । उक्त कम्पनी र सञ्चालकविरुद्ध पनि ऐनको दफा ८ (१) लाई आधार मानी दफा २२ अनुसार मुख्य कसुरदारलाई हुनेबराबरकै सजाय मागदाबी गरिएको छ । कम्पनीका बजार व्यवस्थापक मनोजकुमार आचार्यलाई पनि सोहीबमोजिम पूरा बिगो र सजाय मागदाबी अख्तियारले गरेको छ । 

सुझावित समाचार