राजीनामा माग्ने कांग्रेसलाई गृहमन्त्री लामिछानेको जवाफ- कांग्रेस दुधले नुहाएको पार्टी होइन

मंगलबार, ६ चैत, २०८०
डिजिटल संस्करण
राजीनामा माग्ने कांग्रेसलाई गृहमन्त्री लामिछानेको जवाफ- कांग्रेस दुधले नुहाएको पार्टी होइन

फाइल तस्बिर ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस दुधले नुहाएको पार्टी नभएको प्रतिक्रिया दिएका छन् । 
सहकारीको रकम हिनाहिनामा संलग्न रहेको भन्दै कांग्रेसले निरन्तर राजीनामा मागेको विषयमा सञ्चारकर्मीसामु प्रतिक्रिया दिँदै उनले भने, ‘पूरक उजुरीमा, ठाडो उजुरीमा गृहमन्त्रीको राजीनामा माग्ने कांग्रेस दुधले नुहाएको पार्टी होइन भन्ने नेपाली जनताले बुझेका छन् ।’ 

अनुसन्धान गर्दागर्दैको मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्न नसुहाउने उनले जिकिर गरे । 

आफूहरू काम गर्न सरकारमा गएको भन्दै उनले त्यसको संकेत देखाइसकेको जिकिर गरे । ‘हामी काम गर्नलाई अघि बढेका छौँ । कामको संकेत यहाँहरूले देखिसक्नुभएको छ,’ उनले भने ।
 
रास्वपा सभापतिसमेत रहेका लामिछानेले संसदीय समिति बनाउने र राजीनामा माग्ने अडान कायम राख्न कांग्रेसलाई चुनौतीसमेत दिए । 

‘यही अभ्यास गर्न खोजिएको हो भने कांग्रेसले बाँकी चार वर्षको अवधि संसद् अवरोध गरोस्, हाम्रो यही संयन्त्रले चार वर्ष मजाले काम गरोस् । त्यसपछि हेर्नुहोला, चार वर्षपछि धेरै मान्छे संसदमा हुँदैनन् ।’ 

सुझावित समाचार