भलिबल च्याम्पियनसिप : आर्मी, पुलिस, कोशी र एभरेस्टको विजयी सुरुवात

महिलातर्फ एभरेस्ट भलिबल क्लबले सानदार सुरुवात गर्दा पुरुषतर्फ विभागीय टोलीको वर्चस्व

आइतबार, ४ चैत, २०८०
डिजिटल संस्करण
भलिबल च्याम्पियनसिप : आर्मी, पुलिस, कोशी र एभरेस्टको विजयी सुरुवात

त्रिभुवन आर्मीविरुद्ध अंक जोडेपछि खुसियाली मनाउँदै गण्डकी प्रदेशका खेलाडी । तस्बिर सौजन्य : विशाल पन्त

एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो दिन विभागीय टोलीहरू त्रिभुवन आर्मी र नेपाल पुलिससँगै कोशी प्रदेश तथा एभरेष्ट क्लबले विजयी सुरुवात गरेका छन् । नेपाल भलिबल एसोसिएसनको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेल हुँदा पुरुषतर्फ आर्मी, पुलिस र कोशीले जितेका हुन् । महिलातर्फ एभरेष्ट भलिबल क्लब सानदार सुरुवात गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले खेल २९–२७, २५–१९ र २५– १७ ले जित्दै तीन अंक जोेड्यो । राष्ट्रिय टोलीका कप्तान मानबहादुर श्रेष्ठसहित हरि अधिकारी, धनबहादुर भट्ट क्षेत्री, दुर्गाबहादुर महतो, सम्राट भण्डारी, राजेन्द्र विष्ट र ईश्वर थापा सम्मिलित आर्मीलाई गण्डकीले पहिलो सेटमा दबाबमा राखे पनि बाँकी सेटमा कमजोर प्रदर्शन गर्यो । अनुभवी आर्मीका खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै उद्घाटन खेल रोमाञ्चक बनाएका थिए । 

अर्काे खेलमा कोशीले ढोरपाटन क्लबलाई‌ ३–१ को सेटमा हरायो । खेलको पहिलो सेट भने ढोरपाटनले २५–२३ ले जितेको थियो । तर, त्यसपछि पुनरागमन गर्दै कोशीले बाँकी तीन सेट २५–२०, २५–१८ र २५–१९ ले जित्दै तीन अंक हात पा¥यो । दुवै टोलीमा राष्ट्रिय टोलीका कुनै पनि खेलाडी थिएनन् । 

पूर्व विजेता पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तीन अंक जोड्यो । राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीको साथ पाएको पुलिसले कर्णालीलाई २५–९, २५–१३ र २५–१३ ले हराएको हो । प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ १३ टोलीको सहभागी छन् । दुवै विधाका विजेता टोलीले पाँच लाख, दोस्रो हुने टोलीले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी, विधागततर्फ उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुनेछन् । 

एभरेस्टको सानदार सुरुवात
महिलातर्फ भएको एक मात्रै खेलमा एभरेस्ट भलिबल क्लबले सानदार सुरुवात गरेको छ । राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीसँगै तीन भारतीय राष्ट्रिय टोलीका खेलाडीको साथ पाएको एभरेष्टले दिनको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३–० को‌ सोझो सेटमा हरायो । चार खेलाडीले सानदार प्रदर्शन गरेपछि एभरेष्टले एकतर्फी जित निकालेको हो । 

एभरेष्ट पहिलो सेट २५–१२ ले जितेको थियो । दोस्रो सेट २५–७ र तेस्रो सेट २५–११ ले जित निकाल्दै तीन अंक जोडेको हो । अरुणासँगै भारतीय खेलाडी सूर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोन्सनलाई एभरेस्टले अनुबन्ध गर्दै उपाधि दाबेदार रहेको संकेत गरेको छ । यसअघि विभागीय तीन टोली र न्यु डायमन्डले घरेलु भलिबलमा राज गर्दै आएका थिए । यसपटक एभेरेष्टले आफू पनि बलियो रहेको संकेत गरेको छ । 

अरुणा र भारतीय तीनै खेलाडीले १९औँ एसियाली खेलकुद प्रतियोगिता खेलेका थिए । एभरेष्ट प्रतियोगिताको समूह ‘ए’ मा छ । जहाँ साबिक विजेता नेपाल पुलिससँगै आर्मी पनि रहेको छ । समूहका दुई टोली मात्रै सेमिफाइनलमा पुग्ने हुँदा यो समूह निकै बलियो देखिन्छ । अर्को समूहमा विभागीय टोली सशस्त्र प्रहरी बलको न्यु डायमन्ड एकेडेमी र मधेश प्रदेश छन् ।

मानव तस्कर गर्ने कोचलाई कारबाही गर्ने मन्त्रीको चेतावनी 
प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मानवतस्कर गरिरहेका राष्ट्रिय कोचलाई कारबाहीको दायरामा ल्याउने घोषणा गरेका छन् । उद्घाटन सत्रमा बोल्दै नवनियुक्त मन्त्री श्रेष्ठले भने, ‘खेलाडीको नाममा मानवतस्कर गरिरहेका कोच अब कारबाहीको दायरामा आउँछन् ।’ 

उनले त्यस्ता प्रशिक्षकको नाम संकलन गरिरहेको र चाँडै कारबाही गर्ने प्रतिबद्धता गरे । मानवतस्करबाट प्रशिक्षकले २० देखि २२ लाखसम्म लिने गरेको पनि मन्त्री श्रेष्ठले दाबी गरेका छन् । ‘त्यस्ता कोचको केही जानकारी संकलन पनि गरेका छौँ । खेलाडी पठाउने भन्ने, तर २०–२२ लाख लिएर मान्छे पठाउनेको प्रारम्भिक नाम लिएको छु । तिनीहरू कारबाहीको दायरामा आउँछन् ।’

मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जगत्मा भलिबलले मेडल जितोस् भनेर कामना पनि गरे । साथै, उनले खेलाडीका लागि प्रशिक्षणमा रहँदा आवासका लागि पुल्चोकमा रहेको हालको मन्त्री क्वार्टरलाई मिलाउने बताए । उनले मन्त्रिपरिषद्को ग्रिन सिग्नलपछि त्यसले पूर्णता पाउने विश्वास गरे । ‘खेलाडी साथीहरूका लागि आवासको समस्या भएकोमा अहिलेको मन्त्री क्वार्टरलाई खेलाडीका लागि आवसीय प्रशिक्षणको प्रारम्भिक छलफल सुरु भएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘मन्त्रिपरिषद् र उच्च राजनीति नेतृत्वले यसमा ग्रिन सिंग्नल दिनुभयो भने खेलाडीलाई आवासीय ट्रेनिङ सेन्टर हुनेछ ।’

उनले खेल स्वच्छ हुनुपर्ने र खेलकुद क्षेत्रमा रहेको बेथिति अन्त्य गर्दै नेपाली झन्डा विदेशमा फहराउने बताए । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुल्चोकको मन्त्री क्वार्टरलाई खेलाडी आवासका लागि प्रयोग गर्न प्रस्ताव गरेको थियो । सदस्यसचिव टंकलाल घिसिङले प्रशिक्षण दौरान होटेलमा बसोवास गर्दा ठूलो खर्च हुने हुँदा पुल्चोकस्थित मन्त्री क्वार्टरमा आवासीय प्रशिक्षण गर्ने घोषणा गरेका थिए । सरकारको नयाँ गठबन्धनसँगै श्रेष्ठ खेलकुद मन्त्रालय हाँक्न आएका हुन् । उनी आएसँगै राष्ट्रिय खेलुकद विकास ऐनलाई प्राथमिकतामा राखेका छन् । जसले खेलकुद क्षेत्रमा ठूलो हलचल मच्चाएको छ । 

सुझावित समाचार