बागमती प्रदेश सभाको मंगलबारको बैठक जम्मा १० मिनेट बसेर स्थगित भएको छ। आजको बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पेस गरिएको थियो।
समितिका संयोजक नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द लम्सालले संसद् बैठकमा प्रतिवेदन पेस गरेका हुन्। उनले पेस गरेको प्रतिवेदनमाथि अर्को बैठकमा छलफल गरी पारित गरिनेछ भने आगामी बैठकले सोहीअनुसार प्रदेश सरकारलाई निर्देशन दिनेछ।
मंगलबारको बैठकमा प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको छ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सो विधेयकलाई दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
मुख्यमन्त्री जम्कट्टेलले पेस गरेको उक्त प्रस्तावलाई सभामुख पाठकले निर्णयार्थ पेस गरेका थिए। सो प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ। प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्नेछ।