विश्वलाई जोड्ने इन्टरनेट केबल सञ्जालमा हुथीको आँखा

अन्तर्राष्ट्रिय समुद्री केबललाई निसाना बनाउने हुथी विद्रोहीको चेतावनी, यमनको जनरल टेलिकम्युनिकेसन कर्पाेरेसनले ग¥यो विरोध

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघले मान्यता दिएको यमनी सरकारसँग आबद्ध टेलिकम संस्थानले हुथी विद्रोहीले लालसागरमुनि बिछ्याएको केबल सञ्जालमा क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ । सो क्षेत्रको केबल सञ्जालले एसिया–पश्चिमी राष्ट्रबीचको इन्टरनेट सञ्जाल र वित्तीय तथ्यांक आदानप्रदान गर्ने भएकाले तिनमा क्षति पुग्दा त्यसको असर विश्वभर महसुस हुनेछ । केही समयअघि हुथी आफैँले उसको एक टेलिग्राम च्यानलमा लालसागरको पिँधमा बिछ्याइएका केबल सञ्जालको नक्सा प्रकाशित गर्दै लेखेको थियो, ‘समुद्रको पिँधमा बिछ्याइएका तारको सञ्जालले विश्वको सबै भेगलाई एउटै इन्टरनेट सञ्जालमा जोड्छ । र, यमन रणनीतिक बिन्दुमा उभिएको छ, ऊ दुई देशलाई जोड्ने होइन, सम्पूर्ण विश्वलाई जोड्ने इन्टरनेट केबल गएको भागको नजिक छ ।’

यमनको जनरल टेलिकम्युनिकेसन कर्पाेरेसनले एक वक्तव्य निकाल्दै अन्तर्राष्ट्रिय समुद्री केबललाई निसाना बनाउने हुथीको चेतावनीको आलोचना गरेको छ । लालसागरका पिँधमा रहेको फाइबर केबलले विश्वको कुल इन्टरनेट आवागमनको १७ प्रतिशत हिस्सा बोक्ने तथ्यांकले देखाउँछ । लालसागरको पिँधमा रहेका करिब १६ समुद्री केबलमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको २५ हजार किमी लामो ‘एसिया–अफ्रिका–युरोप एई–१’ केबल लालसागरलाई बीचमा पारेर युरोपदेखि दक्षिणपूर्वी एसियासम्म फैलिएको छ । खाडी सुरक्षा फोरमका सुरक्षा विश्लेषकले गतसाता समुद्री केबल हुथीको न्यून प्राविधिक क्षमताका कारण मात्र सुरक्षित रहिरहेको बताएका थिए । ‘हुथीहरूसँग जमिनमा देखिने जहाजमा क्षति पुर्याउन आवश्यक मिसाइल र ड्रोन भए पनि समुद्री पिँधमा पुग्ने पनडुब्बुजस्ता उपकरणको अभाव छ,’ ती विश्लेषकले भनेका छन् । 

लालसागरको पिँधमा रहेका करिब १६ समुद्री केबलमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको २५ हजार किमी लामो ‘एसिया–अफ्रिका–युरोप एई–१’ केबल लालसागरलाई बीचमा पारेर युरोपदेखि दक्षिणपूर्वी एसियासम्म फैलिएको छ ।

तर, केही बिन्दुमा केबल जम्मा सय मिटरजतिको गहिराइमा मात्र रहेकाले उच्च प्रविधियुक्त पनडुब्बीसमेत आवश्यकता नपर्न सक्छ । सन् २०१३ मा तीनजना सामान्य गोताखोर एलेक्जेन्ड्रियानजिक यस्तो केबल काट्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ परेका थिए । पछिल्लो समय अमेरिका र उसका मित्रशक्तिले हुथी समूहका आधार क्षेत्रमा आक्रमण बढाएसँगै समूहबाट ठूलो जवाफी कारबाहीको चिन्ता बढ्न थालेको छ ।

पश्चिमी शक्तिले नोभेम्बरयता हुथीले लालसागर क्षेत्रमा आउजाउ गर्ने जहाजलाई निसाना बनाएको प्रतिक्रियामा ती आक्रमण गरेका हुन् । हुथीले सुरुका दिनमा गाजा क्षेत्रका प्योलेस्टिनीको समर्थनमा इजरायलसँग सम्बन्धित जहाजमा मात्र आक्रमण गरेको बताएको थियो । यी आक्रमणलाई निस्तेज बनाउन अमेरिका र बेलायतले आफ्ना रणनीतिक आधारमा बमबारी गरेपछि हुथीले ती दुई देशका पूर्वाधारलाई पनि निसाना बनाउने बताएको छ । 

हुथीका प्रवक्ता मोहम्मद अब्दुल सलामले यमनविरुद्धको अमेरिका–बेलायतको आक्रामकतालाई रोक्न नयाँ रणनीति प्रयोग गर्न तयार रहेको बताएका छन् । ‘हामी गाजालाई समर्थन गर्ने हाम्रो निर्णयमा अडिग र प्रतिबद्ध छौँ । हामीलाई कुनै आक्रमणले यस क्षेत्रबाट विचलित बनाउन सक्दैन । जहाँसम्म यमनीहरूको सैन्य क्षमताको कुरा छ, यो अत्यन्त निर्मम युद्धका दौरान पुनर्निर्माण भएकाले यसलाई नष्ट गर्न सजिलो छैन । बरु अमेरिका र बेलायतले यस भेगमा थप द्वन्द्व भड्काउने र युद्धको नयाँ मोर्चा खोल्नेभन्दा विश्व समुदायको चाहनाअनुरूप इजरायली आक्रामकतालाई तत्काल रोकोस् र गाजामाथिको नाकाबन्दी खुलाओस्,’ सलामले एएफपीलाई भने । 

अक्टोबर ७ को हमासको आक्रमणपछि गाजामाथिको विध्वंसकारी इजरायली अभियान चलिरहँदा मध्यपूर्वभर इजरायलविरुद्ध आक्रोश बढेको छ । यस आक्रोशलाई प्रयोग गरी लेबनान, इराक, सिरिया र यमनमा रहेका इरान समर्थित समूहले इजरायलविरुद्ध विभिन्न तरिकाले आक्रमण गरिरहेका छन् ।
 एफएफपीबाट

सुझावित समाचार