आउँदै छन् महिलाहरू

मंगलबार, २ माघ, २०८०
डिजिटल संस्करण

मानिसको जीवनमा त्यस्ता क्षणहरू हुन्छन्, जहाँ पहिल्यै भइसकेका र हुन बाँकी सबै कुरा जोडिन्छन् । विगत्का विरासतहरू सम्भावित भविष्यसँग ठोक्किन्छन् र हामीलाई प्रश्न सोधिन्छ– विगतलाई सम्मान गर्ने र भविष्य नबिगार्ने गरी तपाईं कुन कदम चाल्नुहुन्छ ?

यो वर्ष मैले यस्तै क्षण भोगेँ, जतिवेला विरासतकी जिउँदो धरोहर प्रोफेसर मिसेरे गिथा मुगोको ८० वर्षको उमेरमा निधन भयो । मेरी आमा वातावरण अभियन्ता वांगारी माथाईसँगको उनको सम्बन्धका कारण मैले उनलाई केही रूपमा बुझ्ने मौका पाएको थिएँ । दुईबीच मित्रताको उपहारसहित धेरै कुरा मिल्दाजुल्दा थिए । दुवै महिला केन्याका मध्यहाइल्यान्ड्समा जन्मिएका थिए र प्रथम भए । मेरी आमा पूर्वी तथा मध्यअफ्रिकामा पिएचडी गर्ने पहिलो महिला थिइन् । त्यस्तै, प्रोफेसर मुगो पूर्वीअफ्रिकामा साहित्यतर्फ पिएचडी हासिल गर्ने पहिलो व्यक्ति थिइन् । उनीहरू दुवै महिला सशक्तीकरणमा प्रतिबद्ध थिए । सन् १९७० र ८० को दशकमा शक्ति सञ्चय गर्ने र खुला स्थानमा मानव अधिकार उल्लंघन गर्ने केन्याली सरकारको प्रतिरोध दुवैले गरेका थिए ।

दुवैले निर्वासनमा समय बिताए । प्रोफेसर मुगो अमेरिकामा थिइन्, जहाँ मौका जुर्दा मैले न्युयोर्कस्थित सिरकिजमा उनीसँग भेटेको थिएँ ।

उनीहरू त्यस्तो साहसी पुस्ताका महिला थिए, जुन पुस्तालाई अफ्रिकी स्वतन्त्रताका लागि भएको संघर्ष महादेशका ५० प्रतिशतको आवाज, क्षमता र ऊर्जा मात्रै होइन भन्ने लाग्थ्यो । अफ्रिका समृद्ध हुन महिलाको व्यक्तिगत स्वतन्त्रता महŒवपूर्ण हुने उनीहरूको मत थियो ।

जब भ्रष्टाचार र हिंसाविरुद्ध आवाज उठाउने साहस गर्दा शक्तिमा रहेका पुरुषले उनीहरूलाई आक्रमण गरेर तल पार्न खोजे, तब उनीहरूले न्याय र पारदर्शिताका पक्षमा आफ्नो आवाज अझै चर्को बनाए ।

उनीहरूको विरासत अफ्रिकामा न्यायका लागि लडिरहेका महिलाको स्वरूपमा निरन्तर प्रकट भइरहेको छ । ती महिला आफूले सिर्जना नगरेको, तर व्यहोरिरहेको अर्को आक्रमण ‘जलवायु संकट’विरुद्ध न्यायका लागि लडिरहेका छन् । उनीहरूले त्यस्ता महिलाबाट शक्ति आर्जन गर्छन्, जसले आफ्नो समुदाय, जीवन र बालबच्चाको भविष्य संकटमा पर्दा प्रतिक्रिया जनाएका थिए ।

वेक्स ग्लेनडाइनिङबाट
आर्ट : वेक्स ग्लेनडाइनिङ

भारतका ‘चिप्को’ अभियन्ताहरू, जो सरकारको धरपकड र बुल्डोजरबाट बच्न रूखको फेरो समातेर बसेका थिए । अर्जेन्टिना र चिलीका नागरिक, जसले सन् १९७० र ८० को दशकमा आफ्ना परिवारका सदस्यलाई बेपत्ता पार्ने तानाशाही सत्ताको वर्षौँसम्म प्रतिकार गरे । राजनीतिक बन्दीका आमाहरू, जसले केन्याको नैरोवीमा सन् १९९२ मा बन्दीगृहमा आफ्ना छोराहरूमाथि दिइएको यातनाको विरोध गरे । वांगारी माथाई यस संघर्षकी नेतृ थिइन् । आफ्ना छोराहरू जेलमा रहेका कारण उनी ती आमाहरूको पक्षमा खडा भएकी थिइनन् (खासमा उनका छोराहरू जेलमा थिएनन् पनि) । सरकारले नागरिकको व्यक्तिगत अधिकार र केन्याको संविधान उल्लंघन गरेर गल्ती गरेकाले उनी यो संघर्षमा खडा भएकी थिइन् ।

‘कुना आसपासबाट महिला आइरहेछन्,’ मैले भेट्दा प्रोफेसर मुगोले भन्ने गरेकी थिइन् । कुनैवेला यो सन्देश एकताको आह्वान थियो । आशावादको अभिव्यक्ति र पुरानो पितृसत्तात्मक प्रणालीलाई अब तिमीहरूको दिन धेरै बाँकी छैन भन्ने चेतावनी पनि थियो ।

उनका शब्द र त्यसका अर्थ मभित्र गुन्जिरहन्छन् । कठिन समयमा मेरो सासमा गुन्जिन्छन् । जब २०११ मा क्यान्सरले मेरी आमाको निधन भयो, तब मलाई जलवायु संकट समाधान गर्ने प्रयास अड्कियो भन्ने लाग्यो ।

कुनै गल्ती नगर्नुस् : पृथ्वीको मानिसका रूपमा हामी अहिले टर्निङ पोइन्टमा छौँ । पेरिस जलवायु सम्झौतामा विश्वव्यापी तापक्रम वृद्धि औद्योगिककालपूर्वको स्तरभन्दा १.५ डिग्री सेल्सियस माथि बढ्न नदिने उल्लेख थियो । सम्झौताले तय गरेका लक्ष्यहरू पूरा गर्न हामी असफल भइरहेका छौँ ।

समुद्री तापक्रम अहिलेसम्मकै उच्च छ र विध्वंशकारी डढेलो र बाढी–पहिरो सबैतिर देखिएको छ । जलवायु संकटको चपेटामा परेका भनेर पहिचान गरिएका ४० देशमध्ये आधाभन्दा धेरै देश मेरै महादेशमा पर्छन् ।

तर, यहाँका सरकार हरितगृह ग्यास उत्र्सजनमा कमी गर्दै ‘नेट जिरो’ उत्सर्जनमा पुग्ने आफ्नै प्रतिबद्धताबाट पछाडि हटिरहेका छन् । जीवाश्मा इन्धन कर्पोरेसनहरूले अझै पनि निर्विवाद मौसम विज्ञानलाई चुनौती दिन्छन् र पहिलेजसरी नै व्यवसायलाई निरन्तरताका लागि सर्वसाधारणको दिमाग भुट्छन् ।

जर्मन जलवायु अभियन्ता लुइसा बुबोअर, इक्वेडोरियन वातावरणीय तथा मानव अधिकार अभियन्ता हेलेना गुयालिंगा, युगान्डाकी जलवायु अभियन्ता भेनेसा नाकाते र स्विडिस जलवायु अभियन्ता ग्रेटा थनबर्ग सन् २०२३ जनवरीमा स्विट्जरल्यान्डको डाभोसमा आयोजित ‘वर्ल्ड इकोनोमिक फोरम’को वार्षिक भेलामा खनिज कम्पनीका सिइओहरूलाई लेखेको पत्रसहित (बायाँबाट क्रमशः) । तस्बिर : फ्याब्रिस कोफ्रिनी/एएफपी–गेटी इमेजेज

उनीहरूले जलवायु अभियन्ताहरूलाई अवमूल्यन गर्ने गरी काम गरिरहेका छन् । जब कि, समयको मागअनुसार काम गर्ने र अभियन्ताहरूको कुरा सुन्ने उनीहरूको प्रतिबद्धता थियो । विशेष गरी अफ्रिका र अन्य जलवायु संकट सामना गरिरहेका देशमा ऊर्जा क्षेत्रको रूपान्तरणका लागि आवश्यक पैसा र लगानी आइरहेको छैन ।

तर, के यसको अर्थ प्रोफेसर मुगोका भिजनरी शब्दहरू साँचो हुँदैछन् ? अवश्य, परिवर्तनका लागि यो समय तयार छ ।जलवायु परिवर्तनबारे राष्ट्रसंघको फ्रेमवर्क कन्भेन्सनकी पूर्वकार्यकारी सेक्रेटरी क्रिस्ट्रियना फिगुरेसले भर्खरै लेखेकी थिइन्, ‘वर्षौँदेखि तेल र ग्यास उद्योगलाई जाग्न र इतिहासको महŒवपूर्ण जिम्मेवारीमा उभिन ठाउँ थियो,’ उनी थप्छिन्, ‘तर, उनीहरूले देखावटी काम मात्रै गरे ।’

फिगुरेसले आफ्नो क्षमता, कौशल, अनुभव र प्रतिष्ठालाई जीवाश्म इन्धन उद्योगको मुकाबिला गर्न र हामी सबै तथा पृथ्वीको सेवा गर्नका लागि लगाइरहेकी छिन् ।

त्यस्तै, ‘योङ वुमन लिडर्स अफ फ्राइडेज अफ फ्युचर’का एलिजाबेथ वाथुटी, ग्रेट थन्बर्ग, भेनिसा नाकाटेलगायत विश्वका धेरैले यस्तै प्रशंसनीय काम गरिरहेका छन् ।

आजको दिनमा जलवायु अभियानबारे फैलाइएका असत्य कुरालाई काउन्टर गर्न महिला फेरि एकजुट भइरहेको हामी देख्छौँ । हफ्सत अबियोला, प्याट मिट्चेल, रोन्डा क्रेनिजी र मेरी रोब्सन (गणतन्त्र आयरल्यान्डकी पूर्वराष्ट्रपति)लगायत प्रोजेक्ट डान्डिलायनका प्रेरणा हुन् । यस प्रोजेक्टले महिलाको नेतृत्वमा जलवायुबारे फैलाइएका गलत सूचनालाई बन्द गर्दै जनमानसमा सत्य कुरा बुझाउने प्रयास गर्छ ।

मेरो संस्था ‘द वर्ल्ड रिसोर्सेज इन्स्टिच्युट अफ्रिका’मार्फत हामीले महिला उद्यमीहरूलाई अफ्रिकन फरेस्ट ल्यान्डस्केप रेस्टोरेसन इनिसियटिभ र रिस्टोर लोकलमार्फत आफ्नो समुदायमा समृद्धि ल्याउन, दीर्घकालीन जनजीवन र पर्यावरण बहाल गर्न सहयोग गर्छौँ । डब्लुआरआईको सहयोग प्राप्त गरेका यी संस्थाले अफ्रिकामा बाँझा जमिनलाई फेरि हरियो बनाउने लक्ष्य राखेका छन् ।

उदाहरणका लागि, नैरोवीस्थित एक्सोटिक–एपिजेटका तीन संस्थापक महिलाले केन्याभरका सात हजार किसानबाट माकाडामिया नट्स (बदाम) संकलन गरेर विश्वभर बेचिरहेका छन् । केन्याको मारागुवास्थित ग्रिन बेल्ट मुभमेन्ट नेटवर्कका महिलाले बायोमासको स्रोत र उद्यमको अवसरका रूपमा बाँस रोपिरहेका छन् ।

यसमा म आफूलाई त्यही कार्यसँग जोड्न चाहन्छु, जो मेरी आमाले ‘ग्रिन बेल्ट मुभमेन्ट’मार्फत गरेकी थिइन् । महिलालाई परिचालनका लागि सशक्तीकरण गर्ने, परिवेश नवीकरण गर्ने र उनीहरूलाई सीमान्तकृत गराउन चाहने शक्तिशाली फौजसँग जुध्ने । केन्या, भारत र अर्जेन्टिनाका महिलाजस्तै हामी आफ्नो जीवन, आफ्नो विरासत, आफ्नो दैनिकी, आफ्ना बालबालिका र उनीहरूका बालबालिकाको भविष्यजस्ता आफूलाई प्रिय लाग्ने सबै कुरा गुमाउने सँघारमा छौँ ।

यो क्षणले महिला एकता, सहकार्य र साझा बुझाइको माग गरिरहेको छ । हामी दर्दनाक गतिरोध उत्पन्न गराउने यही व्यवस्थालाई व्यवस्थापन गर्दै छौँ वा फरक भविष्य आह्वान गर्दै छौँ ? जतिसुकै जोखिमपूर्ण किन नहोस्, हिंसात्मक र राम्ररी स्थापित भएजस्तो देखिने राजनीतिक संरचना वास्तवमा सहजै भाँचिनेखाले छ ।

अफ्रिकासँग ठूलो सम्भाव्यता छ : चलायमान युवा जनसंख्या र चाहे सोलार होस् वा मिनरल्स स्रोत प्रचुर छ । हामी अफ्रिकीहरूमा नै निर्भर छ हरित र दीर्घकालीन जलवायुको भविष्य, जसले हामीलाई ऊर्जाको स्वतन्त्रता प्रदान गर्ने र गरिबी निवारण एवं प्रकृतिलाई संरक्षण गर्नेछ ।

मेरी आमाले त्यस्तो विश्वास जताएकी थिइन्, जसलाई अफ्रिकाका दशौँ लाख महिलाले निरन्तर प्रतिनिधित्व गर्छन्, चाहे उनीहरूले यी शब्दहरू कहिल्यै नसुनेका नै किन नहुन् : ‘हामीमध्ये जसले बुझ्छन्, जसले थकित हुन हुँदैन भनेर बलियोसँग महसुस गर्छन् । त्यसले हरेश खान हुँदैन । हामीले निरन्तरता दिनुपर्छ । बुझेकाहरूमा नै दबाब हुन्छ भनेर मैले सधैँ भन्ने गरेकी छु । हामी ती व्यक्ति हौँ, जसले एक्सन लिनैपर्छ ।’ वा, प्रोफेसर मुगोले हामीलाई स्मरण गराउनेछिन् : ‘महिलाहरू आउँदै छन् ।’ –न्युयोर्क टाइम्सबाट

(माथाई अफ्रिका एन्ड ग्लोबल पार्टनरसिप एट द वल्र्ड रिसोर्सेज इन्स्टिच्युटकी निर्देशक हुन् । उनी माथाई फाउन्डेसनकी अध्यक्ष तथा ‘ग्रिन बेल्ट मुभमेन्ट इन केन्या’की पूर्वअध्यक्ष हुन् ।)

सम्पादकको रोजाइ

सुझावित समाचार