मनाङमा अचाक्ली चिसो

आइतबार, ८ पुष, २०८०
डिजिटल संस्करण
मनाङमा अचाक्ली चिसो

दुई साताअघिको हिमपातले सेताम्य मनाङ गाउँ । तस्बिर सौजन्य : विनोद गुरुङ

प्रजिअ भन्छन्– धारामा पानी आउन छाड्यो, खानेपानीको जोहो गर्नै कठिन

अत्यधिक चिसोले हिमाली जिल्ला मनाङको जनजीवन प्रभावित भएको छ । माथिल्लो स्थानबाट चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेकाले बस्ती रित्तिँदै गएका छन् । तापक्रम ओरालो लागेसँगै खोलानालाको पानीसमेत जम्न थालेको छ । 

चिसोले जमेपछि धारामा पानी आउन छाडेको छ । मनाङको माथिल्लो भेग नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार गाउँलेहरू धमाधम अस्थायी बसाइँ सरिरहेका छन् । चिसो बढेपछि नार्पा भूमि गाउँपालिकाको कार्यालय पनि अस्थायी रूपमा सदरमुकाम चामेबाट सञ्चालन गरिएको छ । गाउँपालिकाका सबै वडा सदरमुकाम चामेबाट सञ्चालित छन् । गाउँमा बस्ने मान्छे नै कम भएपछि गाउँपालिकाको काम पनि कम हुने गरेको उनले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बन्दै गएको बताए । ‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । पिउने पानी जोहो गर्नै कठिन छ,’ प्रजिअ लामिछानेले भने ।

एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार यस वर्ष पर्यटक आवागमन उत्साहजनक रूपमा बढेको छ । तर, चिसोका कारण अहिले पर्यटक घटेका छन् । अहिले पदमार्गमा दैनिक ६–७ जना पर्यटक पदमार्गमा आउने गरेका छन् । ‘पर्यटकका लागि यो उपयुक्त समय होइन । बेसिजनमा पर्यटक आउँदैनन्,’ उनले भने, ‘अहिले त केही पर्यटक छन् ।’ मनाङमा बिहानीपख तापक्रम माइनस ६ डिग्रीसम्म र राति ११ डिग्रीसम्म झरेको उनले बताए । पर्यटकलाई ‘इन्ट्री’ गर्न आउने वेला चिसोबाट सचेत रहन आग्रह गर्दै गन्तव्यमा पठाउने गरेको उनको भनाइ छ । चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र घलेका अनुसार चिसो मौसममा सदरमुकाम चामेमै बस्न समस्या छ । यतिखेर आउने पर्यटक चिसोका कारण अधिकांश चामे वा तल्लो क्षेत्रमा घुमेर फर्कने गरेका छन्, केही मात्र माथिल्लो क्षेत्रमा पुुग्ने गरेका छन् ।  

निर्माणसम्बन्धी काम प्रभावित
चिसोका कारण विकास निर्माणको काम पनि प्रभावित भएको छ । निर्माण कार्य थालेका योजना पनि चिसोका कारण रोकिएका छन् । चिसोमा सिमेन्ट ‘सेट’ नहुने र चिसोले कामदारले काम गर्न नसक्ने हुँदा निर्माणको काम बन्द गरिएको हो । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्य बन्द गरिएको बताए । केही दिनअघि चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको थियो । 

चिसो बढेसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे, होटेल सुनसान 
चिसो बढेपछि चक्रीय अन्नपूर्ण पदयात्रामा आउने पर्यटक घटेका छन् । केही दिनदेखि पदमार्ग सुनसान देखिन थालेको छ । मंसिर दोस्रो सातादेखि चिसो बढ्न थालेपछि यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ । हिमाली क्षेत्रको दृश्यावलोकन मन पराउने पर्यटक मात्रै चिसो मौसममा घुम्न आएका छन् । जाडो बढेसँगै पदमार्गमा पनि पर्यटक आउन छाडेका छन् । पदमार्गमा होटेल सञ्चालन गदै आएकी पारु गुरुङका अनुसार जाडो बढेसँगै पर्यटक आगमनमा कमी आएको छ । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले पर्यटकको गन्तव्य मनाङमा दैनिक ९–१० जना पर्यटक पदमार्गमा आउने गरेको बताए । मनाङ गाउँमा मात्रै कम्तीमा १५ वटा पर्यटकीय होटेल छन् । होटेल यतीका सञ्चालकसमेत रहेका गुरुङले भने, ‘अहिले पर्यटक घटेपछि पदमार्गका होटेल सुनसान देखिन थालेका छन् । एक महिनाअघिसम्म होटेलमा खचाखच पर्यटक थिए । चिसो बढेसँगै पर्यटक आउन छाडे ।’ उनका अनुसार तल्लो क्षेत्रमा आएका सबै पर्यटक माथिल्लो क्षेत्रमा आउँदैनन् । माथिल्लो क्षेत्रमा बढी चिसो भएर त्यहाँका व्यापारीसमेत बेँसी झर्न थालेका छन् । 

११ महिनामा २० हजारभन्दा बढी पर्यटकले मनाङ घुमे
मनाङमा ११ महिनामा २० हजार बढी विदेशी पर्यटकले मनाङ घुमेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङ (एक्याप)का प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सय ६ जना विदेशी पर्यटक मनाङ भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय ६ जना विदेशी पर्यटक मनाङ भित्रिएको प्रमुख भुजेलले बताए । मनाङमा सबैभन्दा बढी अक्टोबर महिनामा पाँच हजार एक सय ९८ पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीमा एक सय ८४, फेब्रुअरीमा चार सय ९९, मार्चमा दुई हजार सात सय ३६, अप्रिलमा चार हजार दुई सय २१, मेमा एक हजार पाँच सय ७१, जुनमा दुई सय ५२, जुलाईमा दुई ५६, अगस्टमा तीन सय १६, सेप्टेम्बरमा दुई हजार दुई सय ५७, अक्टोबरमा पाँच हजार एक सय ९८ र नोभेम्बरमा तीन हजार दुई सय ४८ पर्यटक भित्रिएका छन् । अन्नपूर्ण पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गर्छन् । 

See More On

सुझावित समाचार