चीनका राष्ट्रपति सी जिनपिङले इजिप्टका प्रधानमन्त्रीसँग बिहीबार मध्यपूर्वमा ‘अधिक स्थायित्व’ ल्याउन आफ्नो मुलुकले इजिप्टसँग मिलेर काम गर्ने अपेक्षा गरेको बताएका छन्।
‘चीन इजिप्टसँग सहयोग बढाउन तथा मध्यपूर्व र विश्वमा अधिक निश्चितता र स्थायित्व ल्याउन इच्छुक छ,’ बेइजिङमा राष्ट्रपति सीले इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीसँगको भेटमा भनेका यहाँको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ।
‘चीन र इजिप्ट असल मित्र हुन् जसको लक्ष्य समान छ र एक–आपसमा विश्वास गर्छन् । विकास र साझा समृद्धिका लागि हातमा हात मिलाएर काम गर्ने असल साझेदार हुन्,’ सीको भनाइ उद्धृत गर्दै सिसिटिभीले भनेको छ, ‘वर्तमानमा अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति गहिरो र जटिल परिवर्तनबाट गुज्रिरहेको छ र विश्वले एक शताब्दीदेखि नदेखिएको तीव्र परिवर्तनको अनुभव गरिरहेको छ।’
सीले अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायका साथै विकासशील मुलुकहरूको समान हितको रक्षा गर्न बेइजिङ कायरोसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताए।
इजरायल र हमासबीच यसै महिना युद्ध सुरु भएयता इजिप्टले गाजापट्टीसँगको आफ्नो सीमालाई प्रायः बन्द गरेको छ । गाजामा मानवीय स्थिति लगातार दयनीय बन्दै गएको छ । तर, कायरोले रफाह क्रसिङमार्फत मानवीय सहायताका लागि ‘दिगो’ मार्ग दिने बताएको छ ।
आगामी वर्षदेखि इजिप्ट उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सको औपचारिक सदस्य बन्ने भएसँगै हालैका महिनामा चीन र इजिप्टबीचको सम्बन्ध मजबुत हुँदै गएको छ।