मुद्रास्फीति लक्ष्यभन्दा माथि, मरमसलामा ४५ प्रतिशतसम्म वृद्धि

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो दुई महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत पुगेको छ। सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ।

राष्ट्र बैंकको गत भदौ मसान्तसम्मको तथ्यांकअनुसार मरमसलामा ४५.४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ। त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७.८६, तरकारीमा १४.५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ र दुग्ध पदार्थ तथा अण्डामा १२.६० प्रतिशत मूल्य बढेको छ । यो अवधिमा घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक भने १३.०८ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५, विविध वस्तु तथा सेवाहरू १२.२१ प्रतिशत, शिक्षा क्षेत्रमा ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुमा ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा  ६.५९ प्रतिशतले मूल्य बढेको छ। भदौ मसान्तसम्ममा यातायात क्षेत्रको मुद्रास्फीति ०.१८ प्रतिशतले घटेको छ।

यो अवधिमा काठमाडौं उपत्यकाको मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत छ।

सुझावित समाचार