बर्दिया बाढीमा डुबेर एकजनाको मृत्यु

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

बर्दियामा आइतबार आएको बाढीमा डुबेर एकजनाको ज्यान गइको छ। बाँसगढी नगरपालिका– ८ वनगौडीका ६८ वर्षीय तुलबहादुर दमाईंको बाढीमा डुबेर मृत्यु भएको हो। 

बाढीबाट विस्थापित भएका तुलबहादुरलगायतका सात घरका २५ जना बालविकास केन्द्र ककौरामा बस्दै आएका थिए। केन्द्रबाट घर जाने क्रममा बाटोमा चिप्लिएर गहिरो भागमा खसेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

तुलबहादुरको शव बिहान महेन्द्र राजमार्गको किनारमा रहेको नालामा फेला परेको प्रहरीले जनाएको छ। तुलबहादुरको शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको छ।

पोखराबाट आफन्ती आउन ढिला भएको हुँदा पोस्टमार्टम हुन नसकेको बाँसगढी नगरपालिका– ८ का अध्यक्ष तुलसीप्रसाद गौतमले बताए। यस्तै, बर्दियामा बबई नदीमा दाउरा निकाल्ने क्रममा बगेर बेपत्ता भएका तीनजना हालसम्म पनि फेला परेका छैनन्। उनीहरूको खोजीकार्य जारी छ।  

बेपत्ता हुनेहरूमा गुलरिया नगरपालिका– १२ भैँसाहीका अन्दाजी ३० वर्षीय बालकृष्ण थारू, वडा नम्बर ८ थपुवा गाउँका अन्दाजी २७ वर्षीय अक्षय थारू र गुलरिया नगरपालिका- २ का २३ वर्षीय महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए। बाढीमा आएका दाउरा तथा काठहरू निकाल्न नदीकिनार नजान स्थानीय प्रशासनले अनुरोध गरेको छ। 
 

सुझावित समाचार