सेनामा जागिर लगाउँछु भन्दै ठगी गर्ने आठजना पक्राउ

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

नेपाली सेनामा जागिर लगाउँछु भन्दै सर्वसाधारणबाट रकम असुली गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ। सेनामा जागिर लगाउने भन्दै १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको भन्दै उनीलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–३ का २७ वर्षीय नरेन्द्रसिंह महर, ३१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिसनसिंह नगाल, २६ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलाली गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शंकर भुललाई पक्राउ गरिएको छ। 

आफूहरूलाई सेनामा जागिर लगाउँछु भन्दै संगठित रूपमा रकम असुली गरेको भन्दै मालिकार्जुन गाउँपालिका–३ बस्ने श्यामसिंह धामीलगायतले उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख डिएसपी तर्कराज पाण्डले बताए। आफू सेनाको व्यक्ति हुँ भन्दै रकम माग गरे पनि जागिर लगाउन नसकेपछि घटना बाहिर आएको हो।
 
उनीहरूसँग भएको बयानको आधारमा ठगी गरेको प्रमाणित भएको डिएसपी पाण्डेले बताए। आफू देवीदल गण अत्तरियामा कार्यरत रहेको बताउने महाकाली नगरपालिका–३ बाजका नरेन्द्र महरले सेनामा जागिर लगाइदिने आश्वासन दिएर फरक–फरक मिति समयमा फरक-फरक व्यक्तिको बैंक खाता, इसेवामार्फत नगद मागेको प्रहरीको भनाइ छ। पक्राउ परेकाविरुद्ध ठगी धन्दामा मुद्दा दर्ताको तयारी भइरहेको उनले बताए। 

यसैबीच, प्रहरीले एक वर्षको अवधिमा जिल्लामा १३५ वटा मुद्दा दर्ता गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी वार्षिक गतिविधिबारे जानकारी गराएको हो।

प्रहरीले कर्तव्य ज्यानका दुई, भवितव्य ज्यानका ३८, ज्यान मार्ने उद्योग एक, झुन्डिएर आत्महत्या २४, अभद्र व्यवहार २९, फुटकर ज्यान पाँच, जबर्जस्ती करणीका सात, सवारी ज्यान पाँच, बहुविवाह एक, लागुऔषधका दुईवटा मुद्दा दायर गरेको छ। प्रहरीले दर्ता गरेकामध्ये ७७ वटा मुद्दा फर्छ्र्यौट गरिएको डिएसपी पाण्डेले बताए।

सुझावित समाचार