कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्री नियुक्तिका गरेको आह्वानको समयसीमा आज समाप्त हुँदै छ।
उनले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गरेको समय आज अपराह्न ५ समाप्त हुँदै छ।
उक्त प्रदेश सभामा अहिले गठबन्धन दलतर्फ कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका चार र जसपा नेपालका एक सांसद छन्।गठबन्धन इतरतर्फ नेकपा एमालेका ४० र राप्रपाका ६ जना सांसद एक ठाउँमा देखिएका छन्।
कुल ९३ सदस्यमा बहुमत पुर्याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्ने भएकाले आजै सभामुख बाबुराम गौतमले राजीनामा दिने र त्यसपछि दलमा समाहित भई ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने योजनाअनुसार छलफल एवं परामर्श भइरहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए।
उनले गठबन्धनमा कुनै समस्या नरहेको र कानुनसम्मत नै प्रक्रिया पूरा गरेर दाबी पेस गर्ने योजना रहेको र प्रदेश प्रमुखबाट तोकिएकै समयसीमा दाबी पेस गरिने बताए।
प्रदेश प्रमुखको कार्यालयबाट भएको आह्वानमा ०८० साल असार २१ मा भएको कोसी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनलाई ११ साउनमा सर्वोच्च अदालतले गरेको फैसलाले बदर गरेको थियो।