जाजरकोटमा १५ वर्षीया बालिका बलात्कृत

एक सातासम्म पक्राउ परेनन्, उजुरी दिएमा ज्यान मार्ने धम्की

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण
जाजरकोटमा १५ वर्षीया बालिका बलात्कृत

दीपक रोकाय

जाजरकोट कुशे गाउँपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । गत ७ साउनमा उनी घरमै बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घरमा कोही नभएको मौका छोपी कुशे गाउँपालिका–८ का ३० वर्षीय दीपक रोकायले बलात्कार गरेका हुन् । 

घटनामा संलग्नविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, उनी अझै पक्राउ पर्न सकेका छैनन् । जिप्रका प्रमुख डिएसपी सन्तोष रोकाले बालिका बलात्कृत भएको र घटनामा संलग्न आरोपीको खोजीकार्य जारी रहेको बताए । ‘गत ७ साउन बिहान करिब १ बजे १५ वर्षीया बालिका बलात्कृत भएकी रहिछिन् । हामीकहाँ सोही दिन साँझ मात्रै उजुरी आयो । बालिकाको स्वास्थ्य परीक्षण गरायौँ । त्यस वेलासम्म घटनामा संलग्न व्यक्ति फरार भइसकेका रहेछन् । यद्यपि, उनको खोजीकार्य जारी छ । घटनाको अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रहरीका अनुसार घटनामा संलग्न अभियुक्त दीपक र सोही गाउँका नरेन्द्र रोकाय गत ६ साउनमा बालिकाको घरनजिक पुगेका थिए । उनीहरू दिनभर गाउँमा बसे । लोकल कुखुरा काटे र बेलुकासम्म मदिरा सेवन गरे । बालिकाका बुबा भैँसी चराउन लेक गएको र आमा स्वास्थ्य उपचारका लागि भारतको हिमाञ्चल गएको थाहा पाएपछि दीपक र नरेन्द्र बालिकाको घरनजिक पुगे । अनुहारमा कालो दले । घरको ढोका खोल्न प्रयास गरे । नखुलेपछि उनीहरू घरको धुरीमा चढे । सँगैको झ्यालबाट घरभित्र छिरे । दीपक बालिकालाई आक्रमण गर्न उत्रिए । नरेन्द्र घरबाट बाहिरिए । र, बाहिरबाट ढोका बन्द गरिदिए । यही मौकामा दीपकले बालिकालाई पटक–पटक बलात्कार गरे । 

घरमा एक्लै रहेकी बालिकाले सक्दो प्रतिकार गरिन् । बलात्कार नगर्न भन्दै दीपकसमक्ष बिन्ती गरिन् । मदिराको नशामा दीपकले रातभर बलात्कार गरिरहेको प्रहरीको भनाइ छ । पीडित बालिकाले घटना सम्बन्धमा बुवालाई सबै कुरा जानकारी दिइन् । घटना गाउँभर फैलियो । जब पीडित बालिकाका बाबु प्रहरीमा जाहेरी दिने पक्षमा पुगे, त्यसपछि दीपक ज्यान मार्ने धम्कीमा उत्रिए । ‘घरमा कोही नभएको मौका छोपी घरको धुरीबाट भित्र छिरेर दीपक रोकायले जबर्जस्ती करणी गरेछ । बुबा जाहेरी दिन प्रहरी कार्यालय जाने निधोमा पुगेपछि उनीहरू ज्यान मार्ने धम्कीमा उत्रिए । उनीहरू अझै पक्राउ परेका छैनन् । पीडितलाई ज्यान मार्ने धम्की दिइरहेका छन्,’ पीडत बालिकाका दाजुले नयाँ पत्रिकासँग भने ।

सुझावित समाचार