पारिस्थितिक प्रणालीमा भएको विनाश र जलवायु परिवर्तनका लागि ‘मानव’लाई दोष दिने काम भनेको असली अपराधीलाई जोगाउने प्रयत्न हो
एन्थ्रोपोसिन भन्ने शब्दलाई सन् २००० मा नोबेल पुरस्कार विजेता रसायनशास्त्री पउल क्रुत्जेन र जीवशास्त्री युजिन स्टोर्मरले अघि सारेका थिए । त्यतिवेला उत्तर–हिमयुगको ११ हजार सात सय वर्षपछिको भौगोलिक युगलाई दर्साउन एन्थ्रोपोसिन शब्दको प्रस्ताव गरिएको थियो । एन्थ्रोपोसिन युगमा पृथ्वीको जीवमण्डल र जलवायु प्रणालीमा सम्पूर्ण मानवको प्रभावलाई पर्गेलिन्छ । उसो त वातावरण वा भूगोल अध्ययन गर्ने वृत्तमा यस शब्दलाई त्यति नस्विकारिए पनि शब्द अझै पनि प्रयोगमा आइरहेकै छ । र, हालै क्यानडाको ब्रोक विश्वविद्यालयका एक अनुसन्धाता टोलीले त्यहाँको क्रफोर्ड तालमा हरेक वर्ष रेडियोधर्मी प्लुटोनियमको सानो पत्र थपिँदै गएको देखेर सन् १९५० देखिको समयलाई एन्थ्रोपोसिनको संज्ञा दिने प्रस्ताव गरेका छन् ।
औपनिवेशिक समयमा विकास भएको पश्चिमा विज्ञान सुरुदेखि नै नश्लभेदी र युरोपकेन्द्रित थियो । यो नश्लभेद जीवविज्ञान र मानवशास्त्रमा अधिक देख्न सकिन्छ । स्नातकोत्तर अध्ययन गरिरहँदा चाल्र्स डार्बिनको पुस्तक ‘द अरिजिन अफ स्पिसिज’मा युरोपबाहिरका मुलुकलाई बारम्बार ‘असभ्य’को संज्ञा दिइएको देख्दा म स्तब्ध भएको थिएँ । पश्चिमा राष्ट्र आफ्नो यो परम्पराबाट मुक्त भइसकेका छैनन् । अहिले चल्तीमा आएको एन्थ्रोपोसिनको अवधारणा पनि नश्लभेदी राजनीतिकै निरन्तरता हो । पारिस्थितिक प्रणालीमा भएको विनाश र जलवायु परिवर्तनका लागि ‘मानव’लाई दोष दिने काम भनेको असली अपराधीलाई जोगाउने प्रयत्न हो । विश्वको पारिस्थितिक प्रणालीमा भएको क्षति र जलवायु परिवर्तनका लागि मूलतः पुँजी एवं प्रविधिमा हालीमुहाली भएका पश्चिमका कर्पोरेट शक्ति नै जिम्मेवार छन् । यसका लागि दक्षिणी गोलार्धमा बसोवास गर्ने बहुसंख्यक मानव जिम्मेवार छैनन् । वास्तवमा दक्षिणी गोलार्धका मानव पीडित हुन् । एन्थ्रोपोसिनका हिमायती ग्रहीय अपराधी र पीडितलाई एउटै डालोमा हाल्छन् र असली अपराधीबारे सुसूचित बहस छलफललाई नियतवश लुकाउँछन् । एन्थ्रोपोसिनको अवधारणा यदि नियतवश ल्याइएको होइन भने पनि यसले औपनिवेशिक विश्व दृष्टिकोणलाई मलजल गर्छ ।
मानवले उत्तर–हिमयुगको सुरुमा करिब १० हजार वर्षपहिलेदेखि कृषिकर्म थालेयता वातावरणलाई परिवर्तन गर्दै आएको छ । तर, यी परिवर्तन पृथ्वीको लचिलोपन एवं पुनरुत्पादन क्षमताभित्रै हुने गरेको थियो । साम्राज्यवादी आक्रमण, हिंसाको राजनीति र बेपर्वाह दोहनले ग्रहलाई तहसनहसतर्फ लगेको हो ।
जसलाई अहिले अमेरिका भनिन्छ, त्यो भूमि र भारतमा प्रवेश गरेका कोलम्बस र भास्को डी गामासँग बन्दुक थियो । यही बन्दुकधारी पश्चिमले बन्दुक नभएका बाँकी विश्वलाई अधीन बनाएका थिए । कोलम्बस र भास्को डी गामाको प्रवेशको तीन शताब्दीपछि आविष्कार भएको वाष्प इन्जिनबाट पश्चिमले उत्तर अमेरिकाको पारिस्थितिक प्रणाली एवं जैविक विविधतालाई तहसनहस पारेका थियो र त्यहाँको जनसंख्यालाई सखाप पारेका थियो । यस्तै प्रक्रिया यद्यपि थोरै नृशंस भए पनि दक्षिण अमेरिकामा देखा परेको थियो । यसबाट अस्ट्रेलिया न्युजिल्यान्ड पनि अछुतो रहेनन् ।
हामी होमोसेपियन्स अर्थात् मानव प्रजातिको उत्पत्ति एवं आनुवांशिक विविधता हासिल गरेको अफ्रिकालाई हालको पारिस्थितिक, सामाजिक एवं राजनीतिक जोखिममा पु¥याइयो । अफ्रिकाको जनसंख्याको एक महत्वपूर्ण हिस्सालाई दास बनाएर एट्लान्टिक महासागर पार पु¥याइयो । मानव, पारिस्थितिक प्रणाली र जैविक विविधतामाथि अभूतपूर्व स्तरमा अत्याचार भएको थियो । रामचन्द्र गुहाले भनेझैँ भारतले पनि आफ्नो जंगलमा बेलायतीबाट बर्बर आक्रमण झेलेको थियो ।
उपनिवेश अहिले पनि आर्थिक सम्बन्धमा जीवित छ र वेलावेलामा पश्चिम हिंसामा उत्रिने गर्छ । विकसित राष्ट्रको एक सय १० खर्ब डलरको ऋणले उत्तरी गोलार्धको पारिस्थितिक प्रणाली, जैविक विविधता र मानिसलाई समेत पंगु बनाइदिएको छ । पश्चिमले जैविक एवं खनिज स्रोतमा रजगज गरेको छ र यी स्रोतको प्रयोग दक्षिणी गोलार्धप्रति व्यक्तिको प्रयोगभन्दा २० गुणा बढी छ । यो प्रक्रियामा पश्चिमले जलवायु संकटसमेत निम्त्याएको छ ।
पृथ्वी र मानवले व्यहोरेको सबैभन्दा ठूलो जोखिम भनेकै साम्राज्यवाद एवं औद्योगिक क्रान्ति थियो । र, औद्योगिक सभ्यता व्यापक रूपमा फैलिन्छ भने यसको प्रभाव अझै दुई शताब्दीसम्म रहनेछ । तर, आधुनिकताको इन्धन रहेको पेट्रोलियम अबको ६० वर्षपछि रित्तिने भएकाले औद्योगिक सभ्यता दुई शताब्दी पनि नपुग्ने देखिन्छ । विश्वका सफा पानीका मुहान आधामा पुगेका छन् । पश्चिमा जगत्को कार्बन उत्सर्जनको बेवास्ता र झुटो समाधानको प्रोत्साहनले जलवायु संकट थप गहिरिने देखिन्छ ।
जीवाश्म इन्धनको प्रयोगमा कटौती गर्ने आवश्यकतालाई बेवास्ता गर्दै पश्चिमको जलवायु संकट समाधान प्रायः निष्प्रभावी छन् । दक्षिणी गोलार्धमा तिनको जैविक विविधताप्रतिको रबैया हिंसात्मक छ । तिनले जैविक विविधताको ऐतिहासिक रक्षक मानिएका आदिवासीलाई संरक्षणका नाममा वञ्चितीकरण गरेका छन् । र, नतिजा पनि प्रत्युत्पादक निस्किरहेको छ अर्थात् संरक्षणका बाबजुद इन्टरगभर्नमेन्टल साइन्स–पोलिसी प्लेटफर्म अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टम सर्भिसेसअनुसार करिब १० लाख प्रजाति लोप हुने जोखिममा छन् ।
साम्राज्यवादबाट निःसृत हिंसा र कर्पोरेट लोभ ग्रहको संकटका कारण हुन् । औद्योगिक सभ्यता रहुन्जेल यो संकट थप गहिरिनेछ । एउटा तालको फेदमा रहेको रेडियोधर्मी प्लुटोनियमको अवशेषलाई हेरेर सन् १९५० देखि एन्थ्रोपोसिन युगको घोषणा गर्नेले त्यसकै ठिक पाँच वर्षअगाडि हिरोसिमामा खसालिएको ४.४ टनको बम देख्दैनन् । रेडियोधर्मीकै अवशेष हेर्ने हो भने हिरोसिमामा अहिले पनि देखिन्छ । साम्राज्यवाद र कर्पोरेट शक्तिले विश्वमाथि गरेको हिंसालाई सम्पूर्ण मानवलाई दोषी देखाउने एन्थ्रोपोसिन शब्दले प्रतिनिधित्व गर्न सक्दैन । पश्चिमले स्विकारोस्, नस्विकारोस्, वास्तवमा हामी ‘कर्पोरेटोसिन’को युगमा छौँ । यति भनिसकेपछि यो कर्पोरेटोसिनमा भारतका कर्पोरेट शक्ति छुट्ने कुरै भएन ।
(फैजी अन्तर्राष्ट्रिय पर्यावरण नीतिमा विशेषज्ञता हासिल गरेका पारिस्थितिक विशेषज्ञ हुन्)
द इन्डियन एक्सप्रेसबाट