नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रातृसंस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गरेका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले भ्रातृसंस्थाहरू गठन गर्दा संस्थापन पक्षले एकलौटी गरेको बताए।
अघिल्लो केन्द्रीय कार्यसमिति बैठकले भ्रातृसंस्था बनाउँदा आवश्यक परामर्श गर्ने निर्णय गरे पनि नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति महासंघ र किसान महासंघ बनाउँदा संस्थापनले एकपक्षीय रूपमा गरेको उल्लेख गरे।
‘के यसैगरी निर्णय गर्दै जाने हो भने हामी वर्तमान चुनौतीको सामना गर्न सक्छौँ त? विचारणीय छ। भ्रातृसंस्थाको अवस्था के छ? कति समय भयो पूर्णता नपाएको? जनसम्पर्क समितिको अवस्था के छ? विभाग गठन किन हुन सकिरहेको छैन? कार्यसमितिको पूर्णता किन हुन सकिरहेको छैन?’ परियारले प्रश्न गरेका छन्।
सहमहामन्त्री परियारले पार्टीको बैठक लाइभ गरेर व्यक्तिलाई फाइदा पुगे पनि पार्टीलाई कुनै फाइदा नपुगेको दाबी गरे। फेसबुक लाइभ हेर्नेको संस्था घटिरहेको उल्लेख गर्दै उनले आमजनतालाई आफूहरूको कुरा सुन्ने रुचिमा ह्रास आउँदै गएको बताए।