हटाइए बसपार्कबाहिर सञ्चालित टिकट काउन्टर

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण
हटाइए बसपार्कबाहिर सञ्चालित टिकट काउन्टर

फाइल तस्बिर

काठमाडौंभित्रबाट उपत्यकाबाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जिप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन्। 

काठमाडौं महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारीसाधनलाई व्यवस्थित बनाउन गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो। 

सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जिप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन्।काठमाडौंभित्रको बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोंगबु, कोटेश्वरलगायत क्षेत्रमा काउन्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन्। 

महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालित टिकट काउन्टर हटाएको छ। कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोंगबु, कलंकी क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउन्टर हटाइएको जानकारी दिए। 

उनका अनुसार महानगरको निर्णय कार्यान्वयन भएसँगै दैनिक रूपमा उपत्यकाबाहिर सञ्चालित करिब दुई हजार सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन हुनेछन्। ‘माइक्रोबस तथा जिपलाई सञ्चालन गर्नका लागि लोत्से मलपछाडि पार्किङ र काउन्टरको व्यवस्था गरिएको छ,’ प्रहरी प्रमुख पाण्डेले भने। 

नयाँ बसपार्कभित्रबाट यातायात सञ्चालन गर्न यातायात व्यवसायीको सहकार्यमा लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउन्टर निर्माणलाई तीव्रता दिएको छ।

लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले काठमाडौं महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जिप तथा माइक्रोबसलाई नयाँ काउन्टर निर्माणको काम भइरहेको बताए। कामपाको निर्णयले सार्वजनिक यातायात सञ्चालन थप व्यवस्थित र भरपर्दो हुने उनको भनाइ थियो।

माइक्रोबस तथा जिप समन्वय समितिका संयोजक राजेन्द्र आचार्यले नयाँ बसपार्कभित्रबाट सार्वजनिक यातायात सञ्चालन गर्न समिति लागिरहेको बताए।

यसअघि नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवालगायत ठाउँका लागि ठूला सार्वजनिक सवारीसाधन मात्र सञ्चालन हुँदै आएका थिए । त्यस्तै, कोटेश्वरबाट बिपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका थिए।

नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालन भएसँगै यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयका लागि ‘पिक एन्ड ड्रप’को व्यवस्था गर्न संयोजक आचार्यले महानगरसँग आग्रह गरे। 

काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्दै  पार्किङका लागि कामपाले ०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो। 

एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारीसाधन राख्न मिल्ने क्षमता छ।
 

सुझावित समाचार