नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिनिधिसभा बैठकमा सांसद डा. अमरेशकुमार सिंह अर्धनग्न हुनु अशोभनीय भएको टिप्पणी गरेका छन्। स्वतन्त्र सांसद सिंह संसदमा गैरजिम्मेवार भएर प्रस्तुत भएका बताए।
‘उहाँले आफूलाई नग्न रूपमा प्रश्तुत गर्नुभयो त्यो शोभनीय भएन भन्ने मेरो बुझाइ र टिप्पणी छ। किनभने, आफ्ना कुराहरू तर्कसंगत ढंगले त्यहाँ राख्ने, अस्वाभाविक प्रकारका हर्कतहरू गर्न नपाइने भनेर नियमावलीमा व्यवस्था गरेका छौँ। अमरेशकुमार सिंह त नियमावली ड्राफ्ट गर्ने कमिटीमै हुनुहुन्थ्यो।
त्यसैले जे हर्कत अगाडि आयो संसद्ले त सिंगै राष्ट्रलाई जागृत गर्ने, आशावादी भावना पैदा गर्ने, जिम्मेवारी ढंगले प्रस्तुत हुने र सिंगै नागरिकलाई समेत जिम्मेवार बनाउन भूमिका खेल्नुपर्ने झन् गैरजिम्मेवार भएर प्रस्तुत हुनुभयो। यसले राम्रो गरेन, आगामी दिनमा सच्याउनुपर्छ,’ उनले भने।