निजी क्षेत्रको सहयोगविना उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिँदैन : प्रधानमन्त्री

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण
निजी क्षेत्रको सहयोगविना उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिँदैन : प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रको सहयोगविना राज्यले मात्रै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन्। 

सोमबार चितवनमा मौलाकाली केबलकार समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरा राज्यले मात्रै पूरा गर्न नसक्ने बताएका हुन्। 

उनले राज्यले निजी क्षेत्रसँग सहकार्य नगरीकन देशले आर्थिक विकासमा गति लिन नसक्ने बताए। निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको नेतृत्व लिन सक्ने भन्दै राज्यले त्यसको निम्ति वातावरण बनाइदिने बताए। 

उनले भने, ‘राज्यले त्यसको निम्ति आवश्यक पर्ने ऐन, कानुनहरूको व्यवस्था गर्ने, अन्य भौतिक पूर्वाधारका विकास गर्ने, शिक्षा, स्वास्थ्यमा लगानी बढाउने र त्यतापट्टिबाट स्वस्थ जनशक्ति निर्माण गर्नेजस्ता आधारभूत कुरामा राज्यले प्राथमिकता दिने, उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरामा निजी क्षेत्रले प्राथमिकता दिने र उचित सहकार्य भयो भने मात्रै विकासले गति लिने कुरा हो।’

प्रधानमन्त्री दाहालले राजनीतिमा आत्मविश्वास, प्रेरणा र आशा जगाउनेभन्दा सबैतिर अँध्यारो देखाउने प्रवृत्ति बढेको भन्दै यो विषय गम्भीर र घातक भएको बताए।

उनले भने, ‘हामीले जनतामा निराशा र हतासा बाँड्ने काम बरु रोकिदिनुपर्छ। आजभोलि राजनीतिमा आत्मविश्वास, प्रेरणा जगाउने, आशा जगाउने, सकारात्मक पहल गर्नेभन्दा जतासुकै अँध्यारो देखाउने, सब अँध्यारो। सब उस्तै हुन् भनेर भन्ने एउटा अराजक प्रवृत्ति देखापर्न खोजेको छ। हामी सबैको निम्ति त्यो बडो गम्भीर र घातक हुन सक्छ। यसमा हामी सबै सजग हुन जरुरी छ।’

कार्यक्रममा बोल्दै कांग्रेसका सांसद डा. शशांक कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे। देशको शक्ति हाइड्रो, पर्यटन र कृषि क्षेत्र रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा बजेट बढाउनु आवश्यक रहेको उनको भनाइ थियो। 

सुझावित समाचार