वीरगन्जस्थित नारायणी अस्पतालको शवगृहका फ्रिजले पूर्ण रूपमा काम नगर्दा स्थानीयवासी समस्यामा परेका छन्। करिब एक महिनादेखि शवगृहको फ्रिजले राम्रोसँग काम नगर्दा अस्पताल छेउमा रहेका गाउँका स्थानीयवासी त्यसको दुर्गन्धले समस्यामा परेका हुन्।
जिल्लाबाहिरका बेवारिसे शवसमेत यही अस्पतालकै शवगृहमा राखिन्छ। तर, शवगृहका फ्रिजले पूर्ण रूपमा काम नगर्दा आसपासका दुई–तीन सय मिटरसम्म दुर्गन्ध फैलिन थालेको वीरगन्ज– ३ छपकैयाका ईश्वर खनालले बताए। उनका अनुसार अस्पतालमा राखिएको शवगृहको फ्रिजमा उचित व्यवस्थापन नहुँदा आफ्नै घरमा बस्नसमेत समस्या हुन थालेको छ।
अस्पतालको शवगृहको फ्रिजले काम नगर्दा समस्या भएको गुनासो गर्दासमेत अस्पतालले वास्ता नगरेको अर्की स्थानीय उषा खनालको भनाइ छ। विगतमा पनि अस्पतालमा यस्तो समस्या बेलाबेलामा भइरहने गरेको थियो।
अस्पतालमा एक महिनामा पाँचवटासम्म बेवारिसे शव आउने गरेको अस्पतालका चिकित्सक डा. अजित साह बताउँछन्। अस्पतालमा वर्षौंसम्म बेवारिसे शव राख्दा समस्या हुँदै आएको उनको भनाइ छ। शवगृहको फ्रिज बिग्रँदा स्थानीयको गुनासो आउने गरेको बताउँदै उनले शवगृहको फ्रिज सुधार गर्न लागिएको बताए।
शवगृहको एउटा फ्रिजमा ६ वटासम्म शव राख्न मिल्छ। सवारी दुर्घटनासमेत धेरै हुने तथा विभिन्न अस्पतालमा मृत्यु भएका बिरामीहरूको समेत शव ल्याउने गर्दा चाप निकै बढ्ने गरेको अस्पताल प्रशासनको भनाइ छ।