पहिचानवादीलाई शान्तिपूर्ण राजनीति गर्न एमाले अध्यक्षको आग्रह

बिहिबार, १४ बैशाख, २०८०
डिजिटल संस्करण

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुंगा हान्ने गरेको बताएका छन्। 

उनले पहिचानको नाम गरेर हमला गर्ने, ढुंगा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताए। एमाले जिल्ला कमिटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै ओलीले ढुंगा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपूर्ण रूपमा लाग्न पहिचानवादीलाई आग्रह गरे। 

कार्यक्रममा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पहिचान र समावेशिताका लागि एमाले नै अग्रसर भएर लडाइँ लडेको स्मरण गरे। अध्यक्ष ओलीलगायतका नेतालाई पहिचानवादीले मेची राजमार्गमा अवरोध गरेका थिए। 

उनीहरूले इलाम बजारमा जुलुस तथा कालो झन्डा देखाएका थिए। प्रदर्शन र कालो झन्डा देखाउने नौजनालाई प्रहरीले पक्राउ गरी छाडेको थियो। कोसी प्रदेश नामकरणको विरोधमा प्रदर्शनकारीले अध्यक्ष ओलीलगायतका नेताविरुद्ध नाराबाजी गरेका हुन्।

सुझावित समाचार