सामुदायिक विद्यालयको फोहोर अब विद्यालयभित्रै व्यवस्थापन गरिने

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूबाट उत्पादन हुने फोहोर विद्यालयभित्रै व्यवस्थापन गर्न सुरु गरेको छ । महानगरले स्वयम्भूमा रहेको गीतामाता माध्यमिक विद्यालयबाट यो काम सुरु गरेको हो । विद्यालयको फोहोर जैविक फोहोर व्यवस्थापनका लागि कम्पोस्टिङ बनाएर विद्यालयभित्रै व्यवस्थापन गर्न थालिएको हो ।

फोहोरलाई स्रोतमै वर्गीकरण गर्ने र जैविक फोहोरलाई उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रमको प्रवद्र्धन गर्दै महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले कम्पोस्टिङ सुरु गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले सहरलाई प्रदूषणमुक्त गराउन सबैको भूमिका रहने बताए ।

‘सहरमा आवाजबाट हुने, पानीमा हुने, माटोमा हुने, हावामा हुने सबै खालका प्रदूषणको समस्या छ । यी सबै खालका समस्या समाधान गर्न समाजमा बस्ने हरेक व्यक्तिले समान जिम्मेवारी बहन गर्नुपर्छ । नेतृत्व गर्ने, आपसी समन्वय गर्ने, आवश्यकताका आधारमा स्रोत र प्रविधि उपलब्ध गराउने काम महानगरपालिकाले गर्छ,’ प्रवक्ता मानन्धरले भने । अबदेखि विद्यालयले विद्यार्थीले खाना तथा खाजा खाँदा उत्पादन भएको फोहोर बाहिर निकाल्नेछैन । 

शिक्षा विभागले यो कार्यक्रमम सुरुमा एक हजारभन्दा धेरै विद्यार्थी भएका विद्यालयहरूबाट सुरु गर्ने जनाएको छ । विद्यालयमा उत्पादन भएको फोहोर व्यवस्थापनका लागि कतै कम्पोस्टिङ राख्ने, कतै गड्यौले मल बनाउने, कतै अन्य प्रविधि राख्ने योजना बनाएको छ ।

विभागका प्रमुख रामप्रसाद सुवेदी भन्छन्, ‘वातावरणीय अध्ययनका लागि सामुदायिक विद्यालयका परिसर नै अवलोकन भ्रमणस्थल बन्न सक्छन् ।’ घरेलु फोहोरको दिगो व्यवस्थापनमा नतिजा ल्याउनु अहिलेका लागि मुख्य काम भएको महानगरले जनाएको छ । महानगरअन्तर्गत वातावरण समितिका संयोजक बालकृष्ण महर्जन भन्छन्, ‘जैविक फोहोरलाई घरमै व्यवस्थापन गर्न जनताबाट सहयोग भए महानगरपालिकाको ठूलो खर्च जोगिन्छ, यसबाट स्वच्छ वातावरण निर्माणमा योगदान पुग्छ ।’

उनका अनुसार सबैका आँखा ठूला योजनामा मात्र छन् । फोहोर व्यवस्थापन गर्ने काम हेर्दा सानो, तर मानव सभ्यता र वातावरणका लागि ठूलो योगदान दिने काम हो । यसलाई सर्वसाधारणले महानगरको काम भनेर पन्छाउने गरेका छन् । यसो गरेर समस्या समाधान हुँदैन । 

महानगरले हरेक परिवारका लागि एक सय लिटर र धेरै व्यक्तिबाट फोहोर उत्पादन हुने भए दुई हजार लिटरको सामुदायिक कम्पोस्टिङ डस्टबिनको प्रयोग गर्न प्रवद्र्धन गरिरहेको छ । विभागकी सहायक निर्देशक सानुमैया महर्जनका अनुसार गत २४ माघमा वडा ४ को शंखपार्कमा दुई हजार लिटरको एउटा डस्टबिन राखिएको छ । यसपछि २९ माघमै बालाजु उद्यानपरिसरका दुई स्थानमा दुई–दुई हजार लिटरका डस्टबिन राखिएका छन् । 

सुझावित समाचार