मेयर थापाले आफ्नै छोरीलाई सरकारी स्कुलमा भर्ना गरेर थाले अभियान

बिहिबार, ७ बैशाख, २०८०
डिजिटल संस्करण

कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले आफ्नी छोरीलाई सरकारी विद्यालयमा भर्ना गरेर सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियानको सुरुवात गरेका छन्। 

२० चैतमा सार्वजनिक सूचना जारी गरेर नगरपालिकाभित्र जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने आह्वान गरेका मेयर थापाले बुधबार आफ्नी छोरीलाई वडा नम्बर ४ श्री समयथान माध्यामिक विद्यालय खैरेन्द्रपुरमा कक्षा ८ मा भर्ना गरेका हुन्। 

'निर्वाचित भएर आइसकेपछि अनिवार्य तथा माध्यमिक तहसम्म नि:शुल्क शिक्षा भन्ने घोषणा गरेका थियौँ। नयाँ शैक्षिक सत्रबाट लागू गर्ने भनेर सभाबाट पास गर्यौँ। अहिले लागू भयो । गुणस्तरीय कसरी बनाउने भनेर कार्यपालिकामा बहस भयो । जनप्रतिनिधि, कर्मचारी, शिक्षक सबैले अनिवार्य रूपमा आफ्नो सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्छ भनेर हामीले नि:शुल्क शिक्षा ऐनमा राख्यौँ। लागू हुने बेलामा मैले आफैँबाट लागू गर्नुपर्छ भनेर मेरी छोरी अंशबाहिनी एकेडेमी इंग्लिस स्कुलमा ७ क्लासमा पढ्थिन् । पास गरिन् । मैले उनलाई मेरै निवासनजिकको नेपाली मिडियमको सामुदायिक विद्यालयकाे ८ कक्षामा श्री समयथान माध्यमिक विद्यालयमा भर्ना गरेको हुँ,' मेयर थापाले भने। 

मेयर थापाले नि:शुल्क शिक्षा ऐन कार्यान्वयन आफैँबाट गर्नुपर्छ भनेर यो कदम चालेको बताए। उनका अनुसार सामुदायिक विद्यालयीय शिक्षालाई गुणस्तरीय बनाउनका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने भएकोले शिवराज नगरपालिकाको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि बनेको ऐन २०७९ बनाइएको छ।

दफा ६(१) मा नगरपालिकामा बसोवास गरी नेपालको संविधान, अन्य प्रचलित कानुन वा अधिकार प्राप्त अधिकारीको निर्णय वा आदेशबमोजिम नियुक्त, निर्वाचित वा मनोनयन हुने र सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्यको पालना वा जिम्मेवारी निर्वाह गर्ने व्यक्तिले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्नु कर्तव्य हुने उल्लेख छ।
 
'नेता, जनप्रतिनिधिदेखि लिएर समाजसेवी र शिक्षकहरूले आफ्नो सामुदायिक विद्यालयलाई भर्ना नगर्ने, निजी विद्यालयमा भर्ना गराउने अनि कुरा मात्र ठूलो गर्ने भएकाले अब व्यवहारमा लागू गर्नुपर्छ भन्ने थियो। सामुदायिक विद्यालयमा पढाउने शिक्षकले आफ्नो सन्तानलाई निजीमा पढाउँछ। आफूले पढाउने विद्यालयलाई विश्वास गर्दैन। अब नयाँ परिस्थितिले सबैको चासो हुन्छ। सबै जनप्रतिनिधि, शिक्षक र कर्मचारीका सन्तान पढ्नेबित्तिकै चासो बढ्छ। जहाँ चासो हुन्छ त्यहाँ सुधार हुन्छ,' मेयर थापाले भने।
 
मेयर थापाले भौतिक संरचना र शिक्षकको गुणस्तरमा सामुदायिक विद्यालय अब्बल रहेको भन्दै  व्यवस्थापन र अनुशासन नभएकाले यसमा गम्भीर रूपमा लागेको बताए। 

'हामी प्रत्येक विद्यालयमा गुनासो पेटिका राख्छौँ। सबै विद्यालयमा पुगेर विद्यार्थीलाई भनेका छौँ, शिक्षक समयमा नआएको, पढाएको नबुझिएको, राम्रो व्यवहार नगरेको कुरा गुनासो पेटिकामा राखिदिन भनेका छौँ। गुनासो पेटिका नगरपालिकामा ल्याएर खोलेर शिक्षकले गरेको व्यवहारमा ऐनअनुसार कारबाही गर्छौं,' उनले भने।

नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न १० वटा विद्यालयलाई मर्ज गरेको छ। ८ वटा विद्यालयको तह घटुवा गरेको छ। 'राम्रो नगर्ने प्राधानाध्यापक शिक्षकमा घटुवा र राम्रो गर्ने शिक्षकलाई प्रधानाध्यापक बनाएर पठाएका छौँ,' उनले भने, 'पूरै विद्यालयमा नर्सरीदेखि कक्षा अंग्रेजी मिडियमबाट चलाउन थालेका छौँ।'

सामुदायिक विद्यालयमा अन्य जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानको भर्ना सुरु गरिरहेको र पूर्ण रूपमा कार्यान्वयनमा आउने उनको विश्वास छ।

सुझावित समाचार