राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सदन सरकारको निर्देशनमा चलेको भन्दै आपत्ति जनाएकी छिन्।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको मंगलबारको बैठकको कार्यसूचीबाट आकस्मिक रूपमा विधेयक हटाएपछि सांसद श्रेष्ठले संसद्लाई सरकारले कहिलेसम्म आफ्नो इच्छाअनुसार चलाउने भनेर प्रश्न गरेकी छिन्।
मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। तर, सभामुख घिमिरेले कार्यसूचीबाट यसलाई हटाएर बैठक स्थगित गरेका थिए।
‘कार्यसूचीअनुसार सदनमा आज ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक पेस हुनुपर्ने थियो,’ सांसद श्रेष्ठले भनिन्, ‘सदन चलिरहँदा, यसरी आकस्मिक कार्यसूचीबाट सो विधेयक हटाइनुको कारण के रैछ? आज देशमा के त्यस्तो आपतकालीन अवस्था आयो र ? सदनले सरकारलाई जवाफदेही बनाउनुपर्छ कि सरकारले संसद्लाई आफ्नो लहरमा घुमाउने हो?’