सात महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब विप्रेषण

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

चालू आर्थिक वर्षको सात महिनाको अवधिमा रु. ६ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको सात महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो। 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो। 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ। 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठबराबर पुगेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई रु. सात खर्ब ५९ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो। 

सुझावित समाचार