कर्मचारी र पदाधिकारीको सेवा–सुविधामै सकियो एक करोड

लगानीकर्ता संरक्षण कोषको रकम कार्यविधिविपरीत खर्च

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

लगानीकर्ता संरक्षण कोषको रकम कार्यविधिविपरीत खर्च भएको देखिएको छ । ‘लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन, कार्यविधि, २०७३’ ले कोषमा जम्मा भएको रकम पुँजी बजारको विकास तथा विस्तार एवं लगानीकर्ताको हितमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । तर, कोषको रकम कर्मचारी तथा पदाधिकारीको तलब–भत्ता, सुविधा, कार्यालय सामग्रीलगायत प्रशासनिक कार्यमा खर्च भइरहेको देखिन्छ । अझ, स्रोत नै नखुलाइएका विविध शीर्षकमा समेत ठूलो रकम खर्च भएको देखिएको छ । 

लगानीकर्ता संरक्षण कोष सचिवालयका अनुसार हाल कोषमा ४६ करोड २९ लाख जम्मा भएको छ । त्यस्तै, कोषको ब्याज खातामा तीन करोड ७२ लाख रहेको छ । कोषको रकम बैंकमा मुद्दती निक्षेपमा राख्ने र त्यसबाट प्राप्त ब्याज आम्दानीबाट कर्मचारीलाई तलब–भत्ता दिने, कोष सञ्चालकले बैठक भत्ता लिनेजस्ता साधारण काममा प्रयोग भइरहेको देखिएको छ ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्म कोषको ब्याज आम्दानीबाट ९८ लाख १५ हजार खर्च भएको देखिन्छ । तर, यसमध्ये १६ लाख मात्रै लगानीकर्तासँग सम्बन्धित कार्यमा खर्च भएको देखिन्छ । पाँच वर्षसम्म कुनै पनि कम्पनीको सेयर दाबी प्रस्तुत हुन नआएको रकम तथा बुझिनलिएको लाभांशको रकम कोषमा जम्मा हुन्छ ।

यो रकम पुँजी बजारको विकास तथा विस्तार, नीति तथा कानुन निर्माण तथा संशोधन, कम्पनी प्रशासन, लगानीकर्ता संरक्षणलगायतका प्रयोजनमा खर्च गर्नुपर्ने कार्यविधिमा व्यवस्था छ । तर, कानुन तथा कार्यविधिअनुसार कोषले एउटा पनि काम नगरेको लगानीकर्ता बताउँछन् । ‘अहिलेसम्म कुनै ठोस काम भएको छैन, कोषले के गर्दै छ ? अत्तोपत्तो छैन,’ एक लगानीकर्ताले भने । लगानीकर्ता सचिवालय प्रमुख सावित्री सुवेदीले कार्यविधिअनुसार नै खर्च भएको बताइन् । उनले भनिन्, ‘कार्यविधिअनुरूपमै खर्च भएको छ, यसलाई विस्तार गर्ने क्रममा भएको खर्चको हो,  लगानीकर्ताको हितमा काम भइरहेको छ ।’

लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले अहिलेको कोषलाई पुनर्संरचना गरेर लैजानुपर्ने बताए । उनले भने, ‘यो कोषलाई पुनर्संरचना नगरीकन यतिकै चल्न सक्दैन, भत्ता खाने कार्यालय सञ्चालनको पैसा खर्च हुन्छ भने यसलाई अध्ययन गरेर पुनः संरचना हुनुको विकल्प छैन ।’ ०७३ सालमा स्थापना भएको कोषले लगानीकर्ताका लागि उपलब्धिमूलक कुनै काम गर्न नसकेको उनको भनाइ छ ।

संरक्षण कोषबाट अपेक्षाअनुरूप काम गर्न नसकिएको धितोपत्र बोर्डले तोकेको प्रतिनिधि सदस्य मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । उनले भने, ‘कोषले अपेक्षाअनुसार काम गरेन, यसबाट म आफैँ अब हट्ने तयारीमा छु, यसलाई पुनर्संरचनामै लैजानुपर्ने अवस्था छ ।’ श्रेष्ठ कोषबाट हटेपछि बोर्डले अर्को प्रतिनिधि पठाउनुपर्छ । कसलाई पठाउने टुंगो लागेलगत्तै आफू कोषबाट अलग्गिने उनले बताए । कोष व्यवस्थापन तथा सञ्चालनका लागि गठित समितिमा कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार, नेपाल धितोपत्र बोर्डका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि र संस्थाको तर्फबाट बोर्डले नियुक्त गरेको नेपाल स्टक एक्सचेन्जका एक प्रतिनिधि रहेका छन् ।

कहाँ छ कोषको रकम ?
कम्पनी ऐनअनुसार ०७३ सालमा लगानीकर्ता संरक्षण कोष स्थापना गरेको थियो । कम्पनी ऐन २०६३ अनुसार सूचीकृत कम्पनीमा सेयर लगानीका लागि प्रवाह भई पाँच वर्षभन्दा बढी होल्ड भएको रकम खिच्नका लागि कोष स्थापना गर्ने व्यवस्था छ । कम्पनी ऐन आएको १० वर्षपछि ०७३ मा कम्पनी रजिस्ट्रारको कार्यालयले ‘लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन, कार्यविधि, २०७३’ ल्यायो । कार्यालयले ३ साउन ०७४ मा सूचना प्रकाशन गर्दै लगानीकर्ता संरक्षण कोषमा रकम जम्मा गरिदिन कम्पनीहरूलाई आग्रह गरेको थियो । त्यसपछि कम्पनीहरूले कम्पनीको सेयरमा लगानी गर्न प्रवाह भएको रकम फिर्ता लिन पाँच वर्षभित्र पनि दाबी प्रस्तुत नभई होल्ड भएको रकम कोषमा पठाए । हाल कोषले विभिन्न वाणिज्य बैंककमा मुद्दती निक्षेपका रूपमा कोषको रकम जम्मा गरेको छ ।

 कोषको रकम कहाँ–कहाँ खर्च गर्न मिल्छ ?
कोषको मूल खातामा जम्मा रहेको रकम सम्बन्धित व्यक्तिले दाबी गर्न आएमा फिर्ता गर्नेबाहेक अन्य कार्यमा खर्च गर्न पाउँदैन । यद्यपि, मूल खाताको रकम नमासिने गरी राष्ट्र बैंकबाट जारी गरिने ऋणपत्र, कुनै वाणिज्य बैंकको मुद्दती खाता, नागरिक लगानी कोषको एकांकी योजनाजस्ता ब्याज, लाभांश वा अन्य आय प्राप्त हुने कार्यमा भने लगानी गर्न सकिन्छ ।

सहायक खातामा रहेको रकम भने पुँजी बजारको विकास तथा विस्तार गर्न, लगानी, कम्पनी कानुन वा व्यापार तथा व्यवसायसम्बन्धी नीति कानुनको सुधार गर्न, सम्बन्धित सरकारी संस्था र कम्पनीका कर्मचारीलाई आवश्यक तालिम तथा प्रशिक्षण दिन खर्च गर्न सकिने व्यवस्था छ । 

त्यस्तै, कम्पनी प्रशासन, पुँजी बजारको विकास तथा लगानीकर्ता संरक्षण सम्बन्धमा प्रचार–प्रसार, प्रकाशन, छलफल तथा गोष्ठीको आयोजना तथा लगानीकर्ता हित संरक्षणका लागि आवश्यक अन्य कार्य गर्न पनि कोषको रकम खर्च गर्न सकिने व्यवस्था छ । 
 

सुझावित समाचार