डिजेलमा मिसावट गर्ने चालकलाई ट्यांकर चलाउन आजीवन प्रतिबन्ध

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

नेपाल आयल निगमको झापा, चारआलीस्थित शाखा कार्यालयमा चारवटा ट्यांकरले ल्याएको ८० हजार लिटर डिजेलमा मिसावट गर्ने ट्यांकरधनी र चालक तथा सहचालकलाई कारबाही गरिएको छ । डिजेलमा मिसावट पुष्टि भएपछि निगम व्यवस्थापनले मंगलबार साँझ चारवटै ट्यांकरधनीलाई पेट्रोलियम पदार्थ गुणस्तर नियन्त्रण बिनियमावली, ०६४ को दफा २२.५.४ अनुसार कारबाही गरिएको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

‘चारवटै ट्यांकरमा रहेको डिजेलको नमुना काठमाडौंस्थित प्रयोगशालामा परीक्षण गर्दा केही न केही अन्य पदार्थको मिसावट भएको पुष्टि भएको छ,’ उनले भने, ‘थप परीक्षणका लागि इन्डियन आयल कर्पोरेसन (आइओसी)को प्रयोगशालमा लैजाने निर्णय भएको छ । त्यहाँ परीक्षण भएपछि भने कुन पदार्थ मिसावट भएको भन्ने बारे यकिन रिपोर्ट आउने अपेक्षा छ ।’ 
त्यस्तै, चारवटा ट्यांकरका चालक तथा सहचालकलाई पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३ अनुसार इन्धन ढुवानी गर्ने ट्यांकर चलाउन आजीवन प्रतिबन्ध लगाइएको छ ।  त्यसैगरी, आइओसीबाट मिसावट परीक्षणको अन्तिम नतिजा आइसकेपछि ट्यांकरधनीबाट ८० हजार लिटर डिजेलको हर्जानासमेत तिराउने निर्णय भएको प्रवक्ता उपाध्यायले जानकारी दिए । 

‘मिसावटका कारण निगमलाई ८० हजार लिटर डिजेल नोक्सानी भएको छ । यसको हर्जाना तिराउने पनि निर्णय भएको छ । तर, आइओसीबाट अन्तिम रिपोर्ट प्राप्त भएपछि यसबारे निर्णय लिइनेछ,’ उनले भने । १० फागुनमा चारवटा ट्यांकरले आइओसीको सिलगुडी डिपोबाट ल्याएको ८० हजार लिटर डिजेलमा मिसावटको आशंका भएपछि निगमले छानबिन समिति बनाएको थियो । सोही छानबिन समितिले गत आइतबार प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कारबाहीको कदम चालिएको प्रवक्ता उपाध्यायले बताए । प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठित छानबिन समितिमा निगमको कोसी प्र्रादेशिक कार्यालय, विराटनगरमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य रहेका थिए ।

सुझावित समाचार