ट्राफिकलाई छल्दा सिसिक्यामेराको फन्दामा

साउनयता सिसिटिभीको सहयोगमा चार हजार तीन सय १४ चालक कारबाहीमा

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

ट्राफिक प्रहरीलाई छलेर ट्राफिक नियम मिच्ने चालकहरू सिसिक्यामेराको फन्दामा पर्न थालेका छन् । ट्राफिक प्रहरीले सिसिक्यामेराका आधारमा ठूलो संख्यामा उपत्यकाका चालकहरूलाई कारबाही गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत १ साउनदेखि फागुन पहिलो सातासम्म चार हजार ३१४ चालक सिसिक्यामेराको निगरानीका आधारमा कारबाहीमा परेका छन् । कतिपयलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेको सिसिटिभीको कन्ट्रोल रुमले दिएको जानकारीका आधारमा तथा कतिपयलाई सवारी नम्बरका आधारमा अनुसन्धानमा गरेर पछि कारबाहीको दायरामा ल्याइएको एसएसपी राजेन्द्र भट्टले बताए । 

कन्ट्रोल रुमको निगरानीका आधारमा तीन हजार २९२ जना कारबाहीमा परेका छन् । त्यस्तै, ट्राफिक नियम उल्लंघन गरी फरार भएका एक हजार २२ जनालाई पछि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइएको एसएसपी भट्ट बताउँछन् । यसरी कारबाहीमा पर्नेहरूको संख्या पछिल्लो दुई महिनामा बढेको छ । 

साउन महिनामा तीन सय ४१, भदौमा ६ सय ८०, असोजमा चार सय ८२, कात्तिकमा तीन सय ६६, मंसिरमा ६ सय ६२, पुसमा नौ सय २५, माघमा आठ सय १४ तथा फागुनको पहिलो साता ४४ जना कारबाहीमा परेका छन् । ‘ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याउने गरिएको छ,’ एसएसपी भट्टले भने, ‘यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ ।’

खासगरी लेनसम्बन्धी र रेडलाइटसम्बन्धी सडक अनुशासनमा सिसिक्यामेराको सहयोगमा धेरै कारबाहीमा पर्ने गरेका छन् । ट्राफिक प्रहरीलाई सडकमा नदेख्दा ट्राफिक नियम मिच्ने प्रवृत्ति देखिएपछि यसरी सिसिक्यामेराका आधारमा कारबाहीलाई तीव्रता दिन थालिएको छ । 

सिसिटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले फिल्डमा खटिएकालाई तत्काल नै जानकारी दिएर कतिपयलाई कारबाही गराउने गर्दछन् । स्थान, समय, सवारीसाधन, नम्बर र कसुरको विषयमा जानकारी दिएर भाग्दै गर्दा चालक कारबाहीमा पर्ने गरेका छन् ।

फरार हुनेहरूको हकमा यातायात व्यवस्था कार्यालयबाट सो सवारीधनीका बारेमा विस्तृत विवरण लिएर अनुसन्धान हुने एसएसपी भट्टले बताए । ०७४ देखि सिसिटिभीमार्फत तथा ०७५ बाट सर्भिलेन्स भेहिकलमार्फत सडकमा निगरानी हुँदै आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सिसिक्यामेराजडित सर्भिकल भेहिकलको पनि सडकमा ट्राफिक पालनाको अनुगमनमा प्रयोग हुँदै आएको छ । 

सिसिटिभीले सडक अनुशासनमा सघाएको छ
एसएसपी राजेन्द्रप्रसाद भट्ट

कतिपयलाई सिसिटिभीको कन्ट्रोल रूमले दिएको जानकारीका आधारमा र केहीलाई सवारी नम्बरको आधारमा अनुसन्धान गरेर पछि कारबाहीको दायरामा ल्याइएको छ । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याउने गरिएको छ । यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ ।

सुझावित समाचार