सहज बन्दै तरलता : बैंकहरूले राष्ट्र बैंकबाट कर्जा लिनै छाडे

आइतबार, १५ माघ, २०७९
डिजिटल संस्करण

डेढ वर्षभन्दा बढी समय खर्च गर्न सक्ने रकमको अभाव भोगेका बैंक तथा वित्तीय संस्थाहरूको अहिले कर्जायोग्य लगानी बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरू एक खर्ब ८४ अर्ब ऋण परिचालन गर्न सक्ने अवस्थामा छन् । चर्काे ब्याजदरले बैंकहरूमा कर्जाको माग घट्न थालेपछि लगानीयोग्य तरलता सहज देखिएको हो । 

विगत डेढ वर्षमा निक्षेप वृद्धि हुन नसक्दा बैंकहरू राष्ट्र बैंकबाट प्राप्त हुने कर्जामै बढी निर्भर थिए । नेपाल बैंकर्स संघका अनुसार गत ८ पुससम्म वाणिज्य बैंकहरूमा निक्षेप ४६ खर्ब ४५ अर्ब पुगेको थियो । त्यसवेलासम्म कर्जा लगानी ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गत बुधबारसम्ममा निक्षेप ४७ खर्ब ६ अर्ब कायम भएको छ । त्यस्तै, कर्जा लगानी ४२ खर्ब ७० अर्ब कायम भएको छ । अर्थात्, यसबीच ६१ अर्ब रुपैयाँले निक्षेप बढेको छ भने कर्जा लगानी ४७ अर्बले बढेको छ । 

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलताको संकेत पाएपछि गत बुधबार नै रिभर्स रिपो जारी गरेको थियो । बैंकले सातदिने अवधिको पाँच अर्बबराबरको रिभर्स रिपो जारी गरेको हो । अधिकतम ८.५ प्रतिशतसम्म पुगिसकेको अन्तरबैंक ब्याजदर गत बुधबारसम्म आइपुग्दा ४.७३ प्रतिशत कायम भएको छ । बैंकहरूमा तरलता अधिक हुँदा यस्तो ब्याजदर घट्ने र तरलता कम हुँदा यो ब्याजदर बढ्ने गरेको छ । अहिले अन्तरबैंक ब्याजदर घटेकै कारणले राष्ट्र बैंकले पनि तरलता प्रशोचन गरेको हो । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण नै रिभर्स रिपो हो ।

बैंकहरूमा तरलता सहज हुँदै गएपछि सरकारी सुरक्षणपत्रको धितोमा लिँदै आइरहेको कर्जामा समेत कमी आइरहेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज भएको केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । उनले भने, ‘पछिल्लो समय तरलता सहज बन्दै गएको देखिन्छ । अस्ति भर्खर हामीले रिभर्स रिपो पनि गर्यौँ । अन्तरबैंक ब्याजदर करिडोरभन्दा तल आएपछि हामीले रिभर्स रिपो गर्यौँ । अन्य सूचकहरूले पनि तरलता सहज हुँदै गएको बुझ्न सकिन्छ ।’   

राष्ट्र बैंकको मासिक विवरण हेर्ने हो भने शोधनान्तर स्थितिमा सुधार हुँदै गएको देखिन्छ । शोधनान्तरलाई बैंकिङ प्रणालीमा तरलताको प्रमुख स्रोत मानिन्छ । चालू आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा छ । 

अहिले ऋणको ब्याजदर महँगो भएका कारणले पनि कर्जाको माग कम हुँदा तरलता सहज देखिएको ग्लोबल आइएमई बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले बताए । बैंकहरू ऋण दिन सक्ने अवस्थामा भए पनि चर्काे ब्याजदरले गर्दा ग्राहक ऋण लिन इच्छुक नभएको उनको बुझाइ छ । उनले भने, ‘ब्याजदर बढी भएकै कारणले अहिले बैंकहरूको नाफामा समेत असर परेको छ । किनभने, ब्याजदर बढ्न थालेपछि ऋण तिर्नै नसक्ने अवस्थामा निजी क्षेत्र पुगेको छ । हामी ब्याजदर वृद्धिमा आवश्यकताभन्दा बढी आक्रामक बन्दा पनि यसले बैंकिङ क्षेत्रलाई असर पुगेको छ ।’

कहिले तोडिन्छ भद्र सहमति ?
पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको चरम अभाव हुन थालेसँगै बैंकरहरू ब्याजदर एक–आपसमा सहमति गर्दै बढाउने वा घटाउने गर्दै आइरहेका छन् । तरलता सहजतासँगै बैंकहरूले कायम राख्दै आएको भद्र सहमति कहिले तोडिन्छ भन्ने प्रश्न उब्जिन थालेको छ । तर, बैंकरहरू तत्काललाई भद्र सहमति भंग गर्ने मनसायमा नरहेको संघका एक सदस्य बैंकरले जानकारी दिए । उनले भने, ‘बजारमा अहिले कायम रहेको तरलता सहजताको स्थितिको स्थायित्वमाथि अझै संशय कायम रहेकाले भद्र सहमतिलाई छाडिहाल्ने स्थिति छैन । यद्यपि, तरलता सहजताको स्थिति स्थायी ढंगले कायम रहँदै गएमा बैंकहरू एक–आपसमा प्रतिस्पर्धा गर्न सक्ने पनि हुन्छ ।’
 

See More On

सुझावित समाचार