पेस्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण
पेस्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता

फाइल तस्बिर

सदरमुकाम दुनै-ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन। 

भेरी करिडोरअन्तर्गत पर्ने सडकखण्ड निर्माणका लागि ०७८ साल चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भए पनि अझै काम सुरु नसकेको हो।

नेपाल–चीनको सीमावर्ती क्षेत्र मोरिम्ला नेपाल हुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारिक सडकखण्डअन्तर्गत पर्ने यस खण्डको काम यथाशक्य चाँडाे गराउन कार्यालयले बारम्बार ताकेता गरे पनि निर्माण कम्पनीले अझै काम सुरु नगरेको सडक डिभिजिन कार्यालय चौहरजहारीका इन्जिनियर दिलीप यादवले गुनासो गरे। 

‘दुईपटक ठेक्का किन नतोड्ने व्यहोरासहितको ताकेतापत्र काटिसकेका छौँ, एउटा पत्र गत मंगलबार सात दिनको समयसीमा राखेर काटिएको छ, यदि  सात दिनभित्र सम्पर्कमा नआएर ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ,’ इन्जिनियर यादवले भने, ‘सम्झौता भएलगत्तै काम सुरु गर्ने भनेर रु. ५५ लाख पेस्की रकम रकमसमेत गइसकेको छ, ठेकेदारका कारण काममा ढिलासुस्ती भएको हो।’ 

आयोजनामा कुल लागत रु. १३ करोड ४१ लाख खर्च हुनेछ। सडकखण्ड दुनै–ल्यासीक्याप सडकखण्ड काइके, डोल्पोबुद्ध गाउँपालिका हुँदै नेपाल–चीन सीमामा पर्ने मोरिम्ला नाका पुग्नेछ।

सडक डिभिजन कार्यालय चौहरजहारीलाई काइके गाउँपालिकाले काम छिटो सुरु गर्न भन्दै गत  मंसिर २८ मा पत्र लेखेको छ। 

पत्रमा सम्झौता भएको महिनौँ बितिसक्दा पनि गाउँपालिका हुँदै उपल्लो डोल्पासम्म जोड्ने सडक बन्द भएको र आमनागरिकलाई आवतजावतमा समस्या भएको भन्दै निर्माण कम्पनीलाई तत्काल काम सुरु गराउन अनुरोध गरिएको थियो। 

सडकखण्डको काम सुरु नभएकै कारण काइके गाउँपालिकासहित उपल्लो डोल्पा पुग्ने सर्वसाधारणलाई धेरै सास्ती भएको काइके गाउँपालिकाका अध्यक्ष अंगत रानाले बताए। 

तत्कालै काम सुरु गर्छौँ : निर्माण कम्पनी

श्रेया निर्माण कम्पनीका प्रतिनिधि भीम बोहोराले तत्काल काम सुरु गर्ने दाबी गरे।  

सम्झौता भएलगत्तै काम सुरु गर्ने भनेर डोजर ल्याउन प्रयास गरे पनि बर्खामा खोलामा पानीको मात्रा बढेपछि डोजर पार गराउन नसक्दा काममा ढिलाइ भएको उनले बताए। ‘सडक निर्माण अवधि झन्डै तीन वर्ष छ,’ उनले भने, ‘अब एक वर्षभित्रै काम सम्पन्न गर्ने गरी पुस २० गतेभित्र काम सुरु गर्छौँ।’ 

सुझावित समाचार