
सोमालियामा यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तीमा ६१३ सर्वसाधारणको मृत्यु भएको छ भने ९४८ जना घाइते भएका छन्। मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर टर्कले सोमालियामा अल-सबाब समूहले गरेको आक्रमणका कारण सर्वसाधारणको ज्यान गएको बताएका छन्।
बढ्दो यस्ता गतिविधिले मानवअधिकार र मानवीय अवस्थालाई अझ गम्भीर बनाएको उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार अधिकांश हताहतीहरू विस्फोटक उपकरणका कारण भएका छन्। तीमध्ये कम्तीमा ९४ प्रतिशत यस्ता घटनामा अल-सबाबलाई जिम्मेवार ठहराइएको छ।
यसैगरी, अन्य हताहतीहरू अल-सबाब आत्मघाती बम विस्फोटको कारण रहेको पनि बताइएको छ। टर्कले द्वन्द्वका सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन्।