मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी मेलबर्न
२०७९ कार्तिक २८ सोमबार ०८:४४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० विश्पकप क्रिकेट : इंग्ल्यान्ड दोस्रोपटक विश्व च्याम्पियन

आइसिसी टी–२० विश्वकपको फाइनलमा पाकिस्तान पाँच विकेटले पराजित

Read Time : > 2 मिनेट
एजेन्सी, मेलबर्न
२०७९ कार्तिक २८ सोमबार ०८:४४:००

इंग्ल्यान्ड दोस्रोपटक आइसिसी टी–२० विश्पकप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । इंग्ल्यान्डले आइतबार मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै दोस्रोपटक विश्व च्याम्पियन ट्रफी उचालेको हो । यससँगै पाकिस्तानले वेस्ट इन्डिजले राखेको कीर्तिमान बराबरी गरेको छ । वेस्ट इन्डिजको नाममा सर्वाधिक दुईपटक विश्व च्याम्पियन भएको कीर्तिमान रहेको छ । अब यो रेकर्ड वेस्ट इन्डिज र इंग्ल्यान्डको नाममा छन् । 

इंग्ल्यान्डले खेलेका तीनमध्ये दुई फाइनल आफ्नो नाममा लेखाएको छ । पाकिस्तानले तीनमध्ये दुई फाइनल गुमाएको छ । सन् २००९ मा पाकिस्तानले श्रीलंकालाई आठ विकेटले हराउँदै उपाधि हात पारेको थियो । क्रिकेट इतिहासमा लगातार एकदिवसीय र टी–२० विश्वकप उपाधि जित्ने इंग्ल्यान्ड पहिलो टोली बनेको छ । सन् २०१९ मा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराउँदै एकदिवसीय विश्वकप उपाधि जितेको थियो । 

 पाकिस्तानको कमजोर ब्याटिङ
दोस्रोपटक विश्व च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा ओर्लेको पाकिस्तानी ब्याट्सम्यानले मेलबर्न क्रिकेट मैदानमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्न सकेनन् । टस हारी पहिलो ब्याटिङ अवसर पाएको पाकिस्तानले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रनको मध्यम योगफल खडा गरेको थियो । इंग्ल्यान्डले १९ ओभरमा पाँच विकेटको नोक्सानीमा एक सय ३८ रन जोड्दै विश्कप ट्रफी उचाल्यो । वेन स्टोक्सले इनिङ्सको १८.६ ओभरमा विजयी एक रन बटुलेका थिए । फाइनल खेलमा इंग्ल्यान्डका साम कुरान म्यान अफ दी म्याच भए । उनले १२ रन खर्चेर पाकिस्तानका महत्वपूर्ण तीन विकेट लिएका थिए । यसैगरी, प्रतियोगिताका म्यान अफ दी सिरिज पनि इंग्ल्यान्डकै भएका छन् । 

 साम र वेन फाइनलका हिरो
दोस्रोपटक इंग्ल्यान्ड टी–२० विश्व च्याम्पियन हुनुको पछाडि फाइनलमा साम कुरान र वेन स्ट्रोक्सको उत्कृष्ट प्रदर्शन नै थियो । मेलबर्नको फास्ट पिचमा साम कुरानले सटिक बलिङ गरेका थिए । कप्तान जोस बटलरले उनलाई चारै ओभर बलिङ गराए । सामले पाकिस्तानी ब्याट्सम्यानमाथि नियन्त्रण राख्न सफल भए । उनले आफ्नो स्पेलमा केवल तीन प्रतिओभर इकोनोमी रेटमा बलिङ गरेका थिए । पाकिस्तानी ब्याट्सम्यानले कुरानको १५ बल डट खेलेका थिए । सामले ओपनर मोहमद रिजवान (१५), सान मसुद (८) मोहमद नजाज (५) को विकेट लिए । 

अर्कोतिर, वेनले अलराउन्ड प्रदर्शन गरे । उनले फिल्डिङका क्रममा मोहमद ह्यारिसको क्याच लिए । बलिङ क्रममा उनले इफितखर अहमेदलाई शून्य रनमा आउट पारे । उनले ३२ रन खर्चेर एक विकेट हात पारे । लक्ष्य पछ्याएको इनिङ्समा इंग्ल्यान्डको जित आधार नै वेनले बनाएका थिए । पाकिस्तानको कसिलो बलिङसामु वेन डटेर टिकेका थिए । इनिङ्सको अन्तिमसम्म आउट नहुँदै उनले ५२ रनको योगदान दिए । वेनले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । 

 फाइनलमा एक मात्र अर्धशतक
आठौँ संस्करणको फाइनलमा प्रयोग भएको पिच ब्याट्सम्यानभन्दा बलरमुखी थियो । यसैकारण पाकिस्तान र इंग्ल्यान्डका ब्याट्सम्यानले ठूलो स्ट्रोक लगाएनन् । पाकिस्तान र इंग्लिस बलरले कसिलो बलिङ गरेका थिए । यस पिचमा फास्ट बलरले आफ्नो कमाल देखाए । पिचमा बल राम्रोसँग स्विङ भइरहेको थियो । जसका कारण ब्याट्सम्यान बिट भइरहेका थिए । बलर हावी भएको फाइनलमा एकजना ब्याट्सम्यानले मात्र अर्धशतकीय इनिङ्स खेले । लक्ष्य पछ्याएको इनिङ्समा इंग्ल्यान्डका वेन स्टोक्सले मात्र अर्धशतकीय इनिङ्स खेलेका थिए । 

पाकिस्तान र इंग्ल्यान्डका अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेल्न सकेनन् । पाकिस्तानका कप्तान बाबर अजामले २८ बलमा ३२ रन बनाए । सानले २८ बलमा ३८ रन जोडे । यसैगरी, सादाव खानले १४ बलमा २० रन जोडेका थिए । पाकिस्तानको इनिङ्समा खेलाडीले दुई छक्का र आठ चौका प्रहार गरेका थिए । इंग्ल्यान्डको ब्याटिङमा कप्तान बटलरले १७ बलमा २६ रन बटुले । ह्यारी ब्रुकले २३ बलमा २० रन तथा मोइन अलीले १२ बलमा १९ रन बनाए । बलिङमा पाकिस्तानका लागि साहिन साह अफ्रिदीले २.१ ओभरमा १३ रन खर्चेर एक विकेट हात पारे । ह्यारिस रौफले २३ रनमा दुई विकेट लिए । 

 विजेता धनराशि
विजेता : २० करोड ८० लाख रुपैयाँ
उपविजेता : १० करोड ३० लाख ४४ हजार रुपैयाँ
सेमिफाइनलिस्ट : पाँच करोड १५ लाख २० हजार रुपैयाँ
सुपर १२ को विजेता : ५१ लाख दुई हजार रुपैयाँ
सुपर १२ बाट बाहिरिने    टोली : ९० लाख १६ हजार रुपैयाँ
पहिलो चरणको विजेता    ः ५१ लाख ५२ हजार रुपैयाँ
पहिलो चरणबाट बाहिरिने : ५१ लाख ५२ हजार रुपैयाँ