
आइसिसी टी–२० विश्वकप २०२२ को उपाधि उचाल्न इंग्ल्यान्डले एक सय ३८ रनको लक्ष्य पाएको छ । टस जितेर इंग्ल्यान्डले पहिले फिल्डिङ रोजेपछि पाकिस्तान ब्याटिङमा आएको थियो ।
पाकिस्तानले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा १३७ रन बनायो । पाकिस्तानको तर्फबाट सान मसुदले सबैभन्दा बढी ३८ रन बनाए । २८ बल सामना गरेका मसुदले एक छक्क र दुई चौका प्रहार गरे । यस्तै, कप्तान बाबर आजमले दुई चौकाको मद्दतले ३२ रन बनाए । सादाव खानले १४ बलमा २० रन, मोहम्मद रिजवान १४ बलमा १५ रन, मोहम्मद ह्यारिस १२ बलमा आठ रन बनाए भने ६ बल खेलेका इफ्तिखार अहमद शून्यमा आउट भए ।
पाकिस्तानको ब्याटिङ अर्डरलाई शाम करण र आदिल रसिदले चल्न दिएनन् । शाम करणले चार ओभरमा जम्मा १२ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । यस्तै, आदिल रसिदले दुई, क्रिस जोर्डनले दुई, बेन स्टोक र क्रिस वक्सले एक–एक विकेट लिए ।